आज विश्व मौसम दिवस, हिमालमा घट्दै हिउँ
-
चैत १०,२०७७ ढाका ।
हरित गृह ग्यासको अधिक कटौतीका कारण विश्वमा तापक्रम बढ्दै गएको छ ।
‘समुद्र, जलवायु र मौसम’ भन्ने नाराका साथ मार्च २३ अर्थात् मङ्गलबार विश्व मौसम दिवस मनाइँदै छ ।
यस दिवसका अवसरमा यी तीनको अन्तरसम्बन्ध खोजिने जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ वैज्ञानिक डा. मदनलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हरित गृह ग्यासको अधिक कटौतीका कारण विश्वमा तापक्रम बढ्दै गएको छ ।
सन् १८५०–१९०० को तापक्रम वृद्धिको मापदण्डअनुसार विश्वव्यापी रूपमै सन् २०२० एक तातो वर्ष बनेको विश्व मौसम सङ्गठनले जनाएको छ । पहिलेको तापक्रम बढोत्तरीका आधारमा अन्य वर्षभन्दा यस वर्ष विभिन्न भूभागमा गरेर ०.१ देखि १.२ डिग्री सेन्टिग्रेडसम्म तापक्रम वृद्धि भएको अनुमान गरिएको छ ।
समुद्रको जलवाष्प नउडेसम्म पानी पर्दैन, पानी नपरे विश्व जलवायुमा सीधै असर पर्छ । यसकारण मौसममा परिवर्तन आएर मानव जीवन प्रभावित हुने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा। इन्दिरा कँडेल बताउनुहुन्छ ।
कँडेलले भन्नुभयो, “विश्वको जलवायु परिवर्तन र प्रदूषणका कारण ओजन तहको विनाश, हिमालमा हिउँको कमी, समुद्री सतहको वृद्धिजस्ता प्रत्यक्ष असर परेको छ ।”
जलवायुको कुनै सिमाना हुन्न । त्यसैले विश्वव्यापी मौसमको अवस्था बुझ्नकै लागि सन् १९५० मा विश्व मौसम सङ्गठन स्थापना भयो । सन् १९६६ मा नेपाल त्यसको सदस्य बनेपछि औपचारिक रूपमा मौसमको जानकारी दिने र अनुगमन गर्ने काम सुरु भयो ।
मौसम दिवस भने सन् १९६१ मार्च २३ देखि मनाउन थालिएको हो । नेपाल सङ्गठनको सदस्य बनेलगत्तै मापन केन्द्रहरू स्थापना गरिए । हाल नेपालमा जलमापनका ८ र मौसमी जानकारी दिने ७० वटा केन्द्र छन् ।
अनि विभिन्न प्राकृतिक विपत्ति र हवाई उडान व्यवस्थित गर्न पूर्वसूचना दिन थालिएको विभागले जनाएको छ । उच्च प्रविधियुक्त प्रविधि, दक्ष जनशक्ति र मर्मत सम्भारको चुनौती नेपालले खेपिरहेको छ । आजको गोरखापत्रमा खबर छ ।