मेलम्चीको पानी चैत्र १५ गते भित्रै काठमाडौं आउने
-
मेलम्चीबाट पहिलो चरणमा आउने पानी खान मिल्ने प्रशोधित पानी आउने भएको छ । मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा पठाउन तोकिएकै समय अर्थात् यही चैत्र १५ गते भित्र आउने भएको छ ।
कार्यविधि अनुसार १० दिन सुरुङ भित्र पानी होल्ड गरेर राख्नु पर्ने भएकाले यसै अनुसार पानी राखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । सुरूङमा पानी थुनेर अनुगमन भइरहेको बताउँदै उहाँले केही दिनमै प्रशोधन केन्द्रमा पानी पठाइने बताउनुभयो ।
चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको विकास समितिले यस अघिनै बताइसकेको थियो । प्रवक्ता पन्तले मेलम्चीको पानी सुन्दरीजलबाट प्रशोधन गरेर पठाउनका लागि गृहकार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।
काठमाडौँ उपत्यकामा पानी वितरणका लागि केही दिनमै सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा दैनिक आठ करोड लिटर खसालिनेखछ । पानी छिटो पठाउनकै लागि निर्माण कम्पनी प्राविधिक टोलीले त्यसै अनुसार काम गरिरहेका छन् । चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रुपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिने भएको छ ।
उक्त अवधिमा परीक्षण सफल भएपछि स्थायी रुपमा पानी पठाउने गरी काम भइरहेको प्रवक्ता पन्तले बताउनुभयो । मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीमा मिसिएसँगै वितरण हुनेछ ।