Trending :
 

कोरोना सङ्क्रमणको चुनौती यथावत्

चैत्र ११,२०७७

-आस्था न्यूज

चैत्र ११,२०७७ काठमाडौं ।
कोरोना सङ्क्रमणका कारण नेपालले बन्दाबन्दी गरेको एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनाभन्दा बढी समय लकडाउन कायम रहेको थियो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै भदौबाट मात्र नेपालमा केही सहज अवस्था भएको हो ।
 
लकडाउन गरेको वर्ष दिन बित्न नपाउँदै नेपालमा कोरोनाको दोस्रो लहर आएको अनुमान लगाउन थालिएको छ । दैनिक ५०/५५ जना सीमित सङ्क्रमित ह्वात्तै बढेर १८८ जनासम्म पुगेको छ । मङ्गलबार मात्र १८८ जना नयाँ सङ्क्रमित थपिएका छन् । केही दिन पहिलेसम्म यो सङ्ख्या सयभन्दा कम सङ्ख्यामा थियो । यसबाट नेपालमा सङ्क्रमण बढ्न सक्ने देखाएको छ ।
 
केही दिनयता भारतका केही प्रान्तमा हालसम्मकै धेरै सङ्ख्यामा कोरोना सङ्क्रमित बढ्न थालेपछि नेपालमा केही सतर्कता अपनाइएको छ । भारतसँगको खुला सिमाना भएका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम छ ।
 
टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागरराज भण्डारीले अस्पतालमा केही दिनअघिसम्म एक÷दुई जना मात्र कोरोना सङ्क्रमितका बिरामी हुने गरेकोमा हाल सात जना भर्ना भइसकेको जानकारी दिनुभयो । सात जनामध्ये पाँच जना आईसीयू तथा दुई जना आइसोलेसन वार्डमा उपचाररत छन् । आजको गोरखापत्रमा खबर छ ।