Trending :
 

चिनियाँ अनुदानको आठ लाख खोप सोमबार आइपुग्ने

चैत्र १५,२०७७

-आस्था न्यूज

चैत १५,२०७७ काठमाडौं ।
चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको कोभिड बिरुद्धको खोप सोमबार नेपाल आइपुग्ने भएको छ । चीनले सिनोफार्म कम्पनीको आठ लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउँदैछ ।
 
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप नेपालका लागि तयारी अवस्थामा राखिएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमा खोप लोड हुँदै गरेको तस्बिर साझा गर्नुहुँदै नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको आठ लाख डोज खोप बेइजिङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको बताउनुभएको छ । उहाँले छिट्टै नेपाललाई उक्त खोप हस्तान्तरण गरिने बताउनुभएको छ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सिनोफार्म कम्पनीको खोप सोमबार नेपाल आइपुग्ने बताउनुभएको छ । उहाँले अनुदानको उक्त खोप चार लाख ब्यक्तिका लागि पुग्ने बताउनुभयो ।
 
नेपालले हाल कोभिशिल्ड खोप प्रयोगमा ल्याएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको दश लाख खोप पहिलो चरणमा अग्रपंक्तिमा खटेकालाई लगाइसकिएको छ ।
 
स्वास्थ्य मन्त्रालयले पछि भारतको सिरम इन्स्टिच्युटबाटै २० लाख डोज खोप खरिद गरेको छ । जसमध्ये दश लाख खोप नेपाल आइपुगेको छ भने बाँकीको दश लाख आउन बाँकी छ । गोरखापत्रमा खबर छ ।