सम्झौताबमोजिम बाँकी मल दिन बङ्गलादेशलाई पत्र
-आस्था न्यूज
चैत १७, २०७७ काठमाडौं ।
सम्झौताबमोजिम बाँकी मल हस्तान्तरण गर्न नेपालले बङ्गलादेशलाई पत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री केन्द्र लिमिटेडले बङ्गलादेशबाट ल्याउन बाँकी मल समयमै उपलब्ध गराउन पत्र लेखेको हो ।
नेपालले बङ्गलादेशसँगको जीटुजी (सरकार-सरकार) सम्झौताको आधारमा यसअघि २२ हजार पाँच सय मेट्रिक टन रासायनिक मल बुझिसकेको छ । त्यसमध्ये १० हजार मेट्रिक टन मल ल्याइसकेको छ भने बाँकी कलकत्ता बन्दरगाहबाट आउने क्रममा रहेको केन्द्र जनाएको छ ।
बङ्लादेशले नेपाललाई कुल ५० हजार युरिया मल उपलब्ध गराउने सम्झौता भएको थियो । बाँकी रहेको २७ हजार पाँच सय मेट्रिक टन मल दुई चरणमा ल्याउने गरी नेपालले योजना बनाएको केन्द्रका प्रमुख नेत्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अब पहिलो पटक १०, दोस्रो पटक १७ हजार मेट्रिक टन मल ल्याउने तयारी छ ।
सम्झौताअनुसार हालसम्म नेपालले सबै मल प्राप्त गर्नुपर्नेमा ढिलाइ भएपछि पत्र लेखिएको केन्द्रका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो ।आजको गोरखापत्रमा खबर छ ।