नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद सुरु
-आस्था न्यूज
चैत २२, २०७७ काठमाडौं ।
प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरेलगत्तै नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ ।
कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय लिएको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपा नेताहरूसँग संवाद थालेका हुन् । दाहालले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत नेतासँग टेलिफोन संवाद गरेका छन् ।
नयाँ सरकार गठनबारे ठोस र औपचारिक छलफलका लागि दाहालले कांग्रेस नेताहरूसँग प्रस्ताव गरेको उनको सचिवालय स्रोतले बताएको छ ।
काठमाडौंबाहिर रहेका दाहाल कांग्रेस नेताहरूसँग संवादका लागि भन्दै हतारहतार काठमाडौं आएका थिए । ‘४ बजेबाट काठमाडौंमा नयाँ सरकार गठनबारे बैठक गर्नुछ, त्यसका लागि फर्कनुपर्नेछ, देशको राजनीतिले कोल्टे फेरेको छ, नयाँ परिस्थिति बन्नेछ, त्यही कामका निम्ति म छिटो जानुपरेको हो,’ कपिलवस्तुमा दाहालले भनेका थिए ।
नेता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार माओवादी केन्द्रले जनता समाजवादी पार्टीसँग छलफल गर्नेछ । ‘कांग्रेसको निर्णय सकारात्मक छ, अब हामी जसपासँग पनि छिटो त्यस प्रकारकै निर्णय लिन अनुरोध गर्छौं,’ उनले भने, ‘त्यसपछि सम्बन्धित सबै पार्टी बसेर फाइनल प्रक्रिया अगाडि बढाउँछौं ।’
माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने काम सँगसँगै गर्दा नयाँ सरकार गठनको काम चाँडो र परिपक्व हुने बताएको छ । माओवादी केन्द्रले सरकारलाई समर्थन नरहेको औपचारिक पत्र लेख्नमात्रै बाँकी रहेको बताएको छ । देउवासँगको भेट र पछिल्लो राजनीतिक अवस्थालाई लिएर आइतबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।
कांग्रेसको निर्णयपछि उत्साही माओवादी केन्द्र जनता समाजवादी पार्टीको एउटा समूहसँग नियमित संवादमा छ । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम प्रतिगामी भएको भन्दै नयाँ सरकार बनाउने पक्षमा छन् ।
अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भने जसले आफ्ना माग पूरा गर्छ, उसैसँग सहकार्य गर्ने भन्दै प्रधानमन्त्री ओलीसँग संवाद गरिरहेका छन् । कांग्रेसको निर्णयले ओलीको विकल्प खोज्न सहज बनाएको जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईले बताइसकेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।