नेपालमा कोरोनाविरुद्धको खोप लगाएका १० जना जेष्ठ नागरिकको मृत्यु

चैत्र २२,२०७७

-

चैत २२, २०७७ काठमाडौं ।
कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरू गरेको छ । 
 
म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरू गरेको हो ।
खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा. धनराज अर्यालका अनुसार मृत्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता लगाउन अनुसन्धान शुरू गरिएको हो । 
 
डा. अर्यालका अनुसार मृत्यु हुनेमा दीर्घरोगी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता कमजोर भएका जेष्ठ नागरिकहरू रहेका छन् । उनीहरूका आफन्तले पनि मृत्युका कारण खोप नभई कालगति र अरू नै रोगका कारण भएको जनाएका छन् ।
 
तर, खोपको प्रभावका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अनुसन्धान शुरू गरेको बताइएको छ । नेपालले कोरोनाविरुद्धको खोप अभियानमा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड प्रयोग गरिरहेको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म १७ लाखले यो खोप लगाइसकेका छन् ।
 
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ  ।