देशभर डढेलोको त्रासः अत्याधुनिक मेसिन र उपकरण नहुँदा समस्या

चैत्र २३,२०७७

-आस्था न्यूज

चैत २३, २०७७ काठमाडौं ।
डोटीको तितला सामुदायिक वनमा फागुन दोस्रो साता डढेलो लाग्यो । सामुदायिक वनका संरक्षकहरू हतारमा आगो निभाउन वन नजिक पुगे । अत्याधुनिक मेसिन र उपकरण थिएन । हातले माटो, स्याउला जे–जे भेट्यो त्यसैले निभाउन थालियो । त्यही क्रममा आगो निभाइरहेका लछ्छी भुललाई आगोको लपेटाले भेट्यो । आगोले पोलेर घाइते हुनुभएका उहाँको फागुन ११ गते मृत्यु भएको सामुदायिक वन उपभोक्ता महासङ्घले जनाएको छ ।
 
चैत १२ गते गोरखाको सातदोबाटो सामुदायिक वनको आगो निभाउन पुग्नुभएका मोहन फेवाली पनि जोगिन सक्नुभएन । वन जोगाउन आगो निभाउँदा निभाउँदै उहाँको ज्यान गयो । यही चैत १३ गते तेह्रथुमकी नरमाया भण्डारीको स्थानीय वनमा लागेको डढेलो निभाउने क्रममा ज्यान गयो ।
 
नेपालमा पछिल्लो समय यसरी नै मानिसको ज्यानै लिने डढेलो फैलिँदै गएको छ । विभिन्न वन क्षेत्रमा बढ्दो क्रममा रहेको डढेलोबाट मृत्यु हुनेको यकिन तथ्याङ्क सङ्कलन हुने क्रम जारी छ ।
 
सामुदायिक वन उपभोक्ता महासङ्घको प्रत्यक्ष निगरानीमा सङ्कलन गरिएको तथ्यअनुसार गएको माघ १ गतेयता डढेलो निभाउन गएका व्यक्तिको मृत्यु भएको हो । डढेलोमा परेर अछाममा तीन र हुम्लामा चार जना घाइते भएका छन् । उनीहरूको अझै उपचार भइरहेको महासङ्घका क्षेत्रीय संयोजक तुलसी अधिकारीले जानकारी दिनुभयो ।आजको गोरखात्रमा खबर छ ।