बाघको आक्रमणबाट गैंडा गणनाका माउत्तेको मृत्यु

चैत्र २३,२०७७

-आस्था न्यूज

चैत २३, २०७७ काठमाडौं ।
आइतवार साँझ बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत हात्तीसारमा कार्यरत माउतेको मृत्यु भएको छ ।
 
विगत पाँच दिन देखि गैँडा गणना टोलीमा सहभागी हात्तीका माउते पुलिसराम चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
 
विगत चार वर्षदेखि निकुञ्जको हात्तीसारमा कार्यरत ३१ वर्षीय माउते चौधरीलाई साँझ बाघले आक्रमण गरेको थियो ।
 
प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार निकुञ्जभित्रको गैँडा मचान क्षेत्रमा गणना गरेर टोली बिश्राम गर्ने अवस्थामा रहेका बेला एक्कासि देखिएको बाघले गैँडा गणनामा प्रयोग गरिएको हात्ती र माउते चौधरीमाथि आक्रमण गरेको थियो । 
 
आक्रमणमा परेका चौधरीलाई केही मिटर परसम्म बाघले लछारेर लगेको थियो ।  आजको गोरखात्रमा खबर छ ।