प्रचण्डको साथ छाड्ने ४ जनाको सांसद पद खारेज, चारै जना मन्त्रीबाट पनि पदमुक्त
-आस्था न्यूज
प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक कदमलाई साथ दिँदै माओवादी केन्द्रबाट एमालेतर्फ लागेका चार जना नेता बिहीबार सांसद पद खारेजीसँगै मन्त्रीबाट पदमुक्त भएका छन् ।
२०७४ सालको चुनावबाट निर्मित प्रतिनिधिसभामा दल त्याग गरेको आधारमा प्रत्यक्ष निर्वाचित सांसदको पद गएको यो पहिलो घटना हो ।
माओवादी केन्द्रको सिफारिसमा अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली ४ बाट निर्वाचित लेखराज भट्ट, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीको सांसद पद गुमेको हो ।
सांसद पद गुमेसँगै मन्त्रीबाट पदमुक्त भएका चारै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअन्तर्गत मन्त्रीमा पुनर्नियुक्ति गर्ने तयारी गरेका छन् ।
यसअघि राष्ट्रिय सभा सांसदको पदावधि सकिएपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई पुनर्नियुक्ति र शपथ गराइएको थियो । रायमाझी ऊर्जा, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चार सांसदले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनीहरूलाई सांसदबाट हटाउन माओवादी केन्द्रले सूचना दिएको प्रतिनिधिसभालाई जानकारी गराएका थिए ।
माओवादी केन्द्रको संसदीय दलका नेता पुष्पकमल दाहालले गत मंगलबार चार जना दल त्याग गरी एमालेमा प्रवेश गरेको भन्दै सांसदबाट हटाउन संसद् सविचालयमा पत्र पठाएका थिए । उक्त पत्रअनुसार सभामुख सापकोटाले बिहीबारकै प्रतिनिधिसभा बैठकमा दल त्यागको बारे सूचना दिएका हुन् ।
प्रतिनिधिसभामा दल त्यागेको बारेमा सभामुखले जानकारी गराएपछि औपचारिक रूपमा सांसद पद रिक्त हुन्छ ।
उनीहरू यसअघि संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्री भएका थिए । उनीहरूलाई प्रधानमन्त्रीले चाहे पुनः मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ । आजको कान्तिपुरमा खबर छ ।