Trending :
 

भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्कनेको लर्को, नाकाहरू अस्तव्यस्त

चैत्र २७,२०७७

-आस्था न्यूज

चैत २७,२०७७ काठमाडौं ।
भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको छ । भारत आउजाउ गर्नेको चाप व्यवस्थापन हुन नसक्दा, क्वारेन्टाइनहरू नबन्दा र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू नहुँदा संक्रमण फैलने डरले स्थानीयलाई सताएको छ ।
 
भारतबाट धेरै कामदार फर्केसँगै सुदूरपश्चिममा दिनदिनै संक्रमित थपिइरहेका छन् । भारतका विभिन्न सहरबाट सुदूरपश्चिमका चारवटा सीमा नाका हुँदै बिहीबार १ हजार ३ सय ६४ जना स्वदेश फर्किए । 
 
तीमध्ये ६ सय ४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ५२ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो प्रदेशमा कञ्चनपुरस्थित गड्डाचौकी, कैलालीस्थित गौरीफन्टा, बैतडीस्थित झुलाघाट र पुलघाट नाका दार्चुलामा एन्टिजेन परीक्षण डेस्क राखिएको छ ।
 
मुख्य नाका गौरीफन्टामा पछिल्लो एक सातामा ६ हजार २ सयभन्दा बढीको एन्टिजेन परीक्षण गरिएकामा २ सय ६५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।
 
उनका अनुसार धनगढीको कनरीस्थित आइसोलेसनमा बिहीबार ४५ जना संक्रमित छन् । प्रदेशका ९ जिल्लाका १८ स्वास्थ्य संस्थामा गरी २ सय ५४ वटा आइसोलेसन बेड रहेको निर्देशनालयले जनाएको छ । 
 
भारतका दिल्ली, मुम्बई, गुजरात, चेन्नईलगायत सहरमा कोरोना संक्रमण पुनः बढेपछि त्यहाँ रहेका सुदूरपश्चिमेलीहरू घर फर्कन थालेका हुन् । यतिबेला सुदूरपश्चिमेलीको मुख्य चाड बिसु सुरु भएकाले अन्य व्यक्ति पनि घर फर्किने गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।