Trending :
 

नेपालमा तत्काल लकडाउन नहुँने, सरकारले स्वास्थ्य मापदण्डमा भने कडाइ गर्ने

चैत्र २९,२०७७

-आस्था न्यूज

चैत २९,२०७७ काठमाडौं ।
कोभिड-१९ संक्रमणकै कारण तत्काल लकडाउन नहुने भएको छ । संक्रमण बढे पनि त्यसलाई रोक्न तोकिएको स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने तयारी सरकारले गरेको छ ।
 
उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा शनिबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सुरुवातमा सरकारले तोकेको मापदण्ड लागू भएको छरछैन हेर्ने र त्यही आधारमा अर्को कदम चाल्ने निर्णय गरेको छ ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक खगराज बरालका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना नगरेर कोभिड-१९ संक्रमण बढे लकडाउन गर्ने अवस्था आउन सक्छ । ‘हामीले तत्काल लकडाउन गर्ने योजना बनाएका छैनौं,’ उनले भने । सीसीएमसी बैठकले संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ ।
 
पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरिएन्ट (प्रजाति) समेत देखा परेको भन्दै बैठकले सतर्कता अपनाउन राष्ट्रिय रूपमा अपिल गर्ने निर्णय गरेको हो । बरालले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई अझ सक्रिय बनाउने निर्णय भएको बताए । ‘संक्रमण घटेसँगै डीसीसीएमसी पनि केही निष्क्रियजस्तो थियो, अब फेरि सक्रिय हुन अनुरोध गरेका छौं,’ उनले भने ।
 
सरकारले यसअघि नै जुन जिल्लामा कोभिड–१९ संक्रमण बढ्यो, त्यहाँको स्थानीय तह र प्रशासनसँग मिलेर निर्धारित क्षेत्रमा लकडाउनसम्म गर्न सक्ने अधिकार दिइसकेको छ । कान्तिपुरमा खबर छ ।