नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटबाट बिजुली किन्न पाउने

बैशाख ०३,२०७८

-आस्था न्यूज

वैशाख ३,२०७७ काठमाडौं। 
 
नेपाल-भारत विद्युत् व्यापार सहज र प्रतिस्पर्धी मूल्यमा गराउने र बङ्गलादेशसम्म पनि नेपालको बिजुली निर्यातको सम्भावना खोल्ने गरी नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्जको सदस्यता पाएको छ ।
 
भारतको ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ऊर्जा एक्सचेन्ज मार्केटको सदस्यता प्रदान गरिएको र अब त्यहाँबाट विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको छ ।
 
प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले कसैको हस्तक्षेपबिना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् खरिद गर्न सकिने भएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो ।
 
“दुई मुलुकबीचको विद्युत् व्यापारका लागि यसको ऐतिहासिक महìव छ,” शाक्यले भन्नुभयो । “ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच पाएकाले भारत हुँदै बङ्गलादेशसम्मको विद्युत् व्यापारका लागि अर्को स्टेपसमेत खुला भएको छ । ”
 
प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत् बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत् बर्खाको समयमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरेको कार्यकारी निर्देशक शाक्यले बताउनुभयो ।
 
प्राधिकरणले भारतीय ऊर्जा बजारमा विद्युत् खरिद र बिक्रीका लागि प्रस्ताव गरेको थियो तर खरिदको स्वीकृति पाए पनि बिक्रीका लागि माग भएको थप आवश्यक कागजात पठाएको शाक्यले जानकारी दिनुभयो ।
 
सुक्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन उल्लेख्य घटेको छ । यही अवस्थामा भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गर्न स्वीकृति पाएकाले प्राधिकरणले तत्काल करिब ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाएको छ । आजको गोरखापत्रमा खबर छ ।