Trending :
 

संघीय संसद् र प्रदेशसभा सदस्यहरूको पद धमाधम खाली

बैशाख ०६,२०७८

-आस्था न्यूज

वैशाख ६,२०७८ काठमाडौं ।
 
माओवादी केन्द्रले पार्टी छाडेर एमालेमा लागेकालाई कारबाही गर्न थालेपछि संघीय संसद् र प्रदेशसभा सदस्यहरूको पद धमाधम खाली हुन थालेको छ । माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएका आधारमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भइसकेको छ ।
 
प्रतिनिधिसभामा चार, राष्ट्रिय सभामा एक र प्रदेशसभामा आठ जनाको सांसद पद खारेज भएको हो ।
 
पछिल्लो पटक आइतबार राष्ट्रिय सभामा वाग्मती प्रदेशबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापाको सांसद पद खारेज भएको छ । सांसद पद खारेज भएसँगै मन्त्रीबाट समेत पदमुक्त भएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबारै गृहमन्त्रीमा नियुक्त गरिएको छ । 
 
माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रिय सभामा निर्वाचित थापाले प्रतिनिधिसभा विघटनको कदमपछि प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए ।
 
सर्वोच्च अदालतको फैसलाले नेकपा एकतापूर्वको अवस्थामा पुगेपछि उनी एमालेमा लागेका छन् । राष्ट्रिय सभामा माओवादी संसदीय दलका नेता दीनानाथ शर्माले गत चैत २७ गते थापाको पद खारेजीको प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्राचार गरेका थिए । त्यही आधारमा सांसद पद खारेजको सूचना आइतबार प्रकाशन गरिएको थियो । 
 
मध्याह्न सांसद पदबाट मुक्त भएका थापाले साँझ गृहमन्त्रीमा पुनः नियुक्ति भईवरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । संघीय संसद् सचिवालयका सचिव राजेन्द्र फुयालका अनुसार मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई राष्ट्रिय सभामा थापाको स्थान रिक्त भएको लिखित जानकारी आइतबार नै गराइएको छ । आजको कान्तिपुरमा खबर छ।