मेलम्चीको पानी ३२० स्थानमा चुहावट
-आस्था न्यूज
बैशाख ७,२०७८ काठमाडौं ।
मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ ।
यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ ।
जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयूकेएलले जनाएको छ । केयूकेएलका प्रमुुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको जानकारी दिनुुभयो ।
उहाँले भन्नुभयो, “पुरानो पाइपबाट चुहावट भइरहेको छ । मर्मत गरिरहेका छौँ । सडक विभागसँग स्वीकृति लिएका छौँ । अब थप स्थानमा मर्मत गर्नेछौँ । ” मेलम्चीको पानी उपत्यकामा सातवटा पोखरीबाट वितरण गरिएको छ ।
महाँकालचौर, अनामनगर, मीनभवन, खुमलटार, महाराजगञ्ज, बालाजु र बाँसबारीको पोखरीबाट वितरण भइरहेको छ । यी पोखरीबाट पुरानो पाइपलाइनमा पानी वितरण भएको छ ।गोरखापत्रमा खबर छ ।