Trending :
 

पाँच महिनापछि ओली-नेपालको भेटः पार्टी जोगाउन नेपालसँग ओलीको आग्रह

बैशाख ०९,२०७८

-आस्था न्यूज

वैशाख ९,२०७८ काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । यसअघि गत कात्तिक २३ गते एक्लाएक्लै छलफल गरेका ओली र नेपाल पार्टीमा अनेकन उच्छालकुदपछि बुधबार संवादमा जुटेका हुन् । 
 
ओली र नेपाल पक्षीय नेताहरूबीच गत चैत १ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफल तिक्ततापूर्वक सकिएपछि यी दुई समूह आआफ्नो बाटो लागेका थिए ।
 
कात्तिकमा भएको भेटमा नेकपा फुटको डिलमा रहेको भन्दै पार्टी जोगाउन नेपालसँग ओलीले आग्रह गरेका थिए । काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घण्टा चलेको छलफलमा भने नेपालले पार्टी जोगाउन ओलीसँग अनुरोध गरे । 
 
छलफलमा सुरुको एक घण्टा ओलीमात्रै बोलेको त्यहाँबाट फर्किएपछि नेता नेपालले निकटस्थहरूलाई ब्रिफिङ गरेका छन् । ‘उहाँले एमाले र माओवादीबीचको एकीकरणको पृष्ठभूमिदेखि कुरा गर्नुभयो, त्यसपछि नेकपामा भएका गतिविधि, एकअर्कालाई गरेको कारबाहीका सबै कुरा उठाउनुभयो,’ नेपालले आफूनिकट नेताहरूलाई भने, ‘मैले उहाँका कमजोरीबारे बताएँ, एकताका लागि पहल गर्नुस् भनें । कुनै ठोस प्रस्ताव आएन, अर्को पटक फेरि बस्ने भनेर उठ्यौं ।’
 
नेता नेपालले २०७५ जेठ ३ अघिको अवस्थाबाट पार्टीलाई फुटबाट जोगाउन सम्भव हुने बताएका थिए । जवाफमा ओलीले नयाँ परिस्थितिमा एमाले निकै अगाडि बढिसकेको बताएका थिए । ‘नेकपामा आफ्नो बहुमत हुँदा तपाईंहरूले मलाई चार पटक कारबाही गर्नुभयो, पार्टीको साधारण सदस्यबाट समेत निकाल्नुभयो, म भुइँमा पछारिएको मान्छे, धूलो टकटक्याउँदै उठें,’ ओलीको जवाफ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘निर्णयहरू यथावत् छन्, गुटगत वार्ता भन्दा पनि आउने १० गतेको बैठकमा सहभागी हुन आउनुस् म आग्रह गर्छु, त्यहीं छलफल गरौं ।’ 
 
उनीहरू दुई घण्टा सँगै बसे पनि आपसी गुनासोमै समय बिताएको सम्बद्ध स्रोतहरूको भनाइ छ । ओलीलाई भेटेर फर्किएपछि निकटस्थहरूसँग नेपालले ओलीको भनाइमा आफूलाई कुनै विश्वास नभएको बताएका छन् । ओलीले पनि बालुवाटारमा आफूले नेपाललाई गुटको गतिविधि नगरी पार्टीमा फर्किन आग्रह गरेको ब्रिफिङ गरेका छन् ।
 
ओली र नेपाल छुट्टाछुट्टै पार्टीको अभ्यासमा लागे पनि दुवै समूहका केही नेता एमाले कुनै हालतमा फुटाउन नहुने पक्षमा थिए । तिनै नेताहरूबीच भएका बारम्बारका संवादले ओली र नेपालबीचको भेट सम्भव भएको हो । 
 
ओलीसित भेट्न जानुअघि नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठक भएको थियो जसले पार्टी एकताका लागि आह्वान गर्ने निर्णय गरेको थियो । वरिष्ठ नेता झलनाथ खनाल र नेपालसहितका २७ संघीय सांसदलाई संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले स्पष्टीकरण सोधेपछि त्यसबारे धारणा बनाउन स्थायी कमिटी सदस्यहरूको बैठक बसेको हो । 
 
बैठकमा स्पष्टीकरणको प्रतिवादसहित जवाफ दिने निर्णयसँगै पार्टी एकताका लागि पहल गर्ने निर्णय भएको थियो । यता सहाना प्रधान प्रतिष्ठानको कार्यालयमा नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूको बैठक चलिरहँदा उता बालुवाटारमा एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री ओलीसँग भेट गरिरहेका थिए । 
 
बिहान ११ देखि दिउँसो १ बजेसम्म भएको भेटमा भट्टराईले उदारताका साथ पार्टी एकीकरणको अगुवाइ गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।
 
‘तपाईंहरू शीर्ष नेताहरूबीच सार्थक संवाद भइरहेको छैन, एकअर्का अडान मात्र प्रकट भएका छन्, एक ठाउँमा बस्दा ती अडानलाई निकास निकाल्ने उपाय निस्कन सक्छन्,’ भट्टराईले ओलीलाई भनेका थिए, ‘त्यसैले तपाईं अध्यक्ष भएको नाताले पनि संवाद र सार्थक कुराकानी गर्न पहल गर्नुहोस् ।’ ओलीले ‘मैले त मिलाउने नै भनेको छु, कहाँ नमिल्ने भनेको छु र ?’ भन्ने जवाफ भट्टराईलाई दिएका थिए । 
 
ओलीले माओवादीसँगको एकतापछि निरन्तर रूपमा नेपालले गरेको असहयोग, त्यसपछि आफूलाई पार्टीबाट निष्कासन गरेकोसम्मका घटनाक्रमको बेलिविस्तार लगाएका थिए । आजको कान्तिपुरमा खबर छ ।