नाकाहरूमा हेल्थ डेस्क छलेर लुकीछिपी नेपाल प्रवेश
-आस्था न्यूज
वैशाख १०,२०७८ काठमाडौं ।
भारतमा संक्रमण चुलिएसँगै नेपाल छिर्नेको भीड बढेपछि सीमा नाकामा परीक्षण र संक्रमण देखिएकाको व्यवस्थापन सरकारको नियन्त्रणभन्दा बाहिर पुग्न थालेको छ ।
आइसोलेसन सेन्टरको सुविधा नभएकाले संक्रमण पुष्टि भएकाहरू सिधै घर पुग्ने गरेका छन् । मुख्य नाकामा परीक्षण गर्न खोजिए पनि हेल्थ डेस्क छलेर प्रवेश गर्नेहरू थुप्रै देखिन्छन् । खुला सीमा भएकाले जहाँसुकैबाट नेपाल छिर्नेको लर्को छ । संक्रमण पुष्टि भएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङसमेत छैन ।
मोरङ, सुनसरी, झापालगायतका सीमावर्ती क्षेत्रमा अव्यवस्थित रूपमा भारत आउजाउले संक्रमणको जोखिम झन् बढेको छ । विराटनगर जुटमिल दक्षिण, दरहैया, मटेरुवा तथा इस्लामपुरस्थित दशगजाबाट सुरक्षाकर्मीको अगाडिबाटै आउजाउ भइरहेको छ ।
किनमेलका लागि दिनहुँ हजारौं व्यक्ति भारतीय बजार जोगबनी र अन्य सहर आउजाउ गर्ने गरेको स्थानीय सुमन लामाले बताए । विराटनगरको बजार क्षेत्र र सार्वजनिक यातायातमा भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज प्रयोग गर्नेजस्ता मापदण्डसमेत अपनाएको देखिन्न ।
विराटनगरस्थित रानी नाकाबाट वैशाख १ देखि बिहीबारसम्म १ सय ५ जना मात्र औपचारिक रूपमा प्रवेश गरेका छन् । जसमध्ये ९ जनामा संक्रमण पुष्टि भएको रानी नाका हेल्थ डेस्कका संयोजक डा. कमलकिशोर यादवले बताए ।आजको कान्तिपुरमा खबर छ ।