धरहरामा ज्यान गुमाएकाको परिवारलाई रोजगारी दिइने
-आस्था न्यूज
वैशाख १२,२०७७ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावर चढेजस्तो अनुभूति भएको बताएका छन् । लिफ्ट चढ्ने सुविधासहितको आधुनिक धरहरा उद्घाटन गरेपछि सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘माथिबाट घुमेर हेरें । भव्य रमाइलो देखिन्छ । माथि भएर होला, वेगका साथ हावा चल्छ । हावाको वेगलाई कसैले रोकेको जस्तो देखिँदैन ।’
धरहराको निर्माण पूरै नसकीकनै प्रधानमन्त्री ओलीले शनिबार उद्घाटन गरेका हुन् । धरहरा क्षेत्रको पुनर्निर्माण हुन अझै ९ महिना लाग्नेछ । धरहराको लिफ्ट, रङरोगनलगायतका काम सकिए पनि बाहिरी निर्माण बाँकी छ । बिजुलीबाट चल्ने लिफ्टबाहेक फलामको भर्याङ राख्ने योजना छ । आधुनिक धरहरामा फोटो खिच्ने ठाउँ, पानीका फोहोरा, फोहोरा हुँदै संग्रहालय जाने बाटो, पुरानो ऐतिहासिक धरहरामा भएका पुरातात्त्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेसिनलगायतका सामानको संग्रहालय, तीनतले पार्किङलगायतका संरचना निर्माण हुनै बाँकी छन् । त्यसैगरी दुई तलाको संग्रहालय, गिफ्ट सप, सानो थिएटरजस्ता पूर्वाधार पनि बन्न बाँकी छ ।
प्रधानमन्त्री ओलीले बीसौ तलामा रहेको भ्यु स्टेसनमा पुगेर आधुनिक धरहरा उद्घाटन गरेका थिए । यही ठाउँबाट पुष्पवृष्टिसमेत गरिएको थियो । ‘रातदिन लगाएर धरहरा पुनर्निर्माण भयो । राति पनि काम गरेको देखेको थिएँ,’ ओलीले भने, ‘यो काममा रातदिन खटेर सहयोग गर्नुहुने धन्यवादको पात्र हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीले आधुनिक धरहरालाई ऐतिहासिक गौरव भएको दाबी पनि गरे । ‘यो ऐतिहासिक गौरवलाई हामीले कायम राख्न सक्यौं,’ उनले भने, ‘ऐतिहासिक गौरवलाई प्रकृतिले पटकपटक धोका दियो । भत्काइदियो । अब बलियो धरहरा बनेको छ ।’
धरहरा क्षेत्रमा सञ्चालन हुने संग्रहालय, पार्किङ, गिफ्ट सफ, सानो थिएटरलगायत क्षेत्र सञ्चालनका क्रममा धरहरा ढल्दा मृत्यु भएकाको परिवारलाई रोजगारी दिइने प्रधानमन्त्री ओलीले बताए । ‘प्रत्येक परिवारको एक जना पर्ने गरी रोजगारी दिन्छौं,’ उनले भने, ‘यहाँ खपत गर्न नसके अन्यत्र व्यवस्था गर्छौं ।’ २०७२ वैशाख १२ गतेको भुइँचालोले धरहरा ढल्दा ६० जनाको ज्यान गएको थियो । उद्घाटन कार्यक्रममा भूकम्पमा परेर ज्यान गुमाएकालाई सम्मान पनि गरिएको हो ।
राष्ट्रिय विभूति भीमसेन थापाले बनाएको धरहराको भने ठुटो नै छ । ठूटोलाई पनि संरक्षण गर्ने सरकारको योजना छ । संरक्षण कार्य सुरु नभएकाले ठुटो जीर्ण हुँदै गएको छ । आधुनिक धरहरा निर्माण हुनुभन्दा अगाडि प्राचीन धरहराको सिँढी राम्रो अवस्थामा थियो । अहिले भने सिँढी सबै भत्किएका छन् । निर्माणस्थलमा प्रयोग भएका निर्माण सामग्रीले ठुटोमा असर परेको संरक्षणकर्मीले गुनासो गरेका छन् ।
ओलीले धरहराको पुनर्निर्माण भने पनि पुरातत्त्वविद्ले यसलाई नवर्निर्माण भनेका छन् । नयाँ धरहरा प्राचीन धरहराजस्तै देखिए पनि फरक ठाउँमा बनाइएको, स्वरूप परिवर्तन गरेकाले नवनिर्माण भन्नुपर्ने उनीहरुको भनाइ छ । आजको कान्तिपुरमा खबर छ ।