कोरोना संक्रमणसँगै मृत्युदर पनि उच्च, पछिल्लो साता ८१ जनाको मृत्यु
-आस्था न्यूज
वैशाख १३, २०७८ काठमाडौं ।
कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ ।
पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको हो । आइतबार एक दिनमै २८ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । ‘लापरबाही गरे स्थिति भयावह हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।
मृत्युदरले कोभिडको विस्तार भयावह अवस्थातिर गइरहेको स्पष्ट संकेत गरेको वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले बताए । ‘नेपालजस्तो थोरै जनसंख्या भएको देशमा एकै दिन २८ जनाको मृत्यु हुनु जटिल अवस्था निम्तिसकेको संकेत हो,’ उनले भने, ‘बढ्दो मृत्युदरले बिरामीले अस्पतालमा राम्रो स्याहार पाउन नसकिरहेको अवस्थासमेत छर्लङ्ग भएको छ ।’
विज्ञहरूले दिनहुँ थपिइरहेका कोरोना संक्रमितको वास्तविक अवस्था अज्ञात रहेको औंल्याएका छन् । उनीहरूका अनुसार परीक्षण प्रक्रियामा नआएका संक्रमितको संख्या उल्लेख्य छ । संक्रमण पुष्टि नभएका कोभिड बिरामीको मृत्यु झन् बढी हुने उनीहरूको अनुमान छ ।
पछिल्लो साता देखिएका संक्रमितमध्ये विदेश जान पीसीआर परीक्षण गराउने धेरै रहेको उल्लेख गर्दै डा। बीसीले भने, ‘हामीले विदेश जानेको संख्या घटायौं भने परीक्षण गराउनेमध्ये करिब आधाजतिमा संक्रमण देखिएको अवस्था छ ।’
पछिल्लो समय जटिल स्वास्थ्य स्थिति नहुँदासम्म परीक्षण गराउन नआउने, कन्ट्याक्ट ट्रेसिङ नहुने, स्वास्थ्य मापदण्ड पालनामा हेलचक्य्राइँ गर्नेलगायत कारणले करिब ५० प्रतिशतजति संक्रमण देखिएको डा. बीसीको भनाइ छ ।आजको कान्तिपुरमा खबर छ ।