Trending :
 

कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै अक्सिजनको माग तेब्बर

बैशाख १४,२०७८

-आस्था न्यूज

वैशाख १४,२०७८ काठमाडौं। 
 
कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै भारतमा संक्रमितको संख्याले दिनहुँजसो ‘रेकर्ड’ बनाइरहेको छ । त्यहाँ अक्सिजनको अभाव बढ्दै छ । नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् ।
 
त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ । यद्यपि नेपालमा अक्सिजन अभाव छैन । समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन् ।
 
‘पछिल्लो समय अक्सिजनको माग तेब्बर पुगेको छ । भारतका कोभिडसम्बद्ध समाचार प्रभाव र अक्सिजन अभाव हुने अनुमानले दैनिक १५/२० जना व्यक्ति कोभिडको शंका लागेर अक्सिजन लिन आउने गरेको उनीहरूको भनाइ छ ।
 
‘अहिलेसम्म माग धानिरहेका छौं,’ सगरमाथा अक्सिजन नेपाल प्रालिका रिकेश महर्जनले भने । सगरमाथा अक्सिजनमा रहेका करिब १० हजार सिलिन्डरमध्ये प्रायः होल्डिङमा छन् । ७/८ सय रोटेसनका क्रममा रहेको उद्योगले बताएको छ ।
 
संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले सिलिन्डर आयातरखरिदको संख्या बढाउनुपर्ने उद्योगीहरूको भनाइ छ । शरीरमा अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई कृत्रिम अक्सिजन दिनुपर्छ । 
 
तर उद्योगबाट रिफिल गरेर पठाउन आफूहरूलाई सिलिन्डरकै समस्या रहेको उद्योगीहरूको गुनासो छ । ‘धेरै सिलिन्डर होल्डिङमा हुन्छन् । ३र४ सय सिलिन्डर रोटेसनमा छन् । 
 
अहिलेसम्म चलिरहेकै छ,’ शंकर अक्सिजन ग्यास प्रालिका प्रबन्धक शम्भु भण्डारीले भने । ‘हरेक अस्पतालमा माग बढ्दो क्रममा रहेकाले सरकारले सिलिन्डरको आयात संख्या बढाउनुपर्छ । थप सिलिन्डर आयात नभए समस्या हुन सक्छ,’ उनले भने ।
 
भण्डारीको उद्योगमा करिब १२ हजार सिलिन्डर छन् । तर उक्त संख्या पर्याप्त होइन । उद्योगीले सिलिन्डरमा सधैंभर लगानी गर्न नसक्ने भएकाले सरकारले सहुलियत वा छुटमा मगाउनुपर्ने उनले बताए । नेपाल अक्सिजन ग्यास उत्पादक संघका अनुसार अक्सिजन सिलिन्डर नेपालमा बन्दैनन् ।
 
चीन र भारतबाटै आयात गर्नुपर्छ । पछिल्लो समय भारतमा कोभिडका बिरामी धेरै भएकाले समस्या छ । आधिकारिक रूपमा आग्रह गरे पनि भारतबाट आयात हुने सम्भावना कम छ । चीनबाट ल्याउन सकिन्छ, त्यसका लागि सरकारले पहल गर्नुपर्ने उद्योगीहरूको भनाइ छ । आजको कान्तिपुरमा खर छ ।