Trending :
 

कोरोनाका बिरामी थेग्नै नसक्ने स्थितिमा पुग्यौंः सरकार

बैशाख १८,२०७८

-आस्था न्यूज

वैशाख १८,२०७८ काठमाडौं ।
 
वीर अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा बिहीबार रेनुका केसी आचार्यलाई कोरोना संक्रमण रहेको पत्ता लाग्यो । शल्यक्रियालगत्तै उनलाई कोभिड वार्डमा भर्ना गरियो । तर २४ घण्टा बित्दा पनि कुनै चिकित्सकले खोजखबर गरेनन् ।
 
आचार्यसँगै सो वार्डमा अन्य २५ जना कोरोना संक्रमित छन् । ती सबैका आफन्तको एउटै गुनासो छ- ‘चिकित्सक छन्, नर्स पनि छन् तर संक्रमितलाई छुन मानिरहेका छैनन् ।’
 
वीरमा मात्रै होइन, काठमाडौं उपत्यकाका प्रायः सबै कोभिड अस्पतालमा अहिले कोरोना संक्रमितको चाप थेगिनसक्नु छ । आफन्तको आकांक्षा पूरा गर्न चिकित्सकलाई हम्मे परिरहेको छ । सरकारी अस्पताल होस् वा निजी, सबैले आफ्नो क्षमताभन्दा माथि नै कोरोना संक्रमितको उपचार गरिरहेका छन् । 
 
काठमाडौंमा कोरोना संक्रमितलाई बेड मात्र नभई केहीथरी औषधिको पनि संकट पर्ने देखिएको छ । यही अनुपातमा संक्रमितको संख्या बढ्दै गए उपत्यकाका जेनेरल अस्पतालले कोरोना संक्रमितका लागि सबै बेड छुट्याए पनि धान्न कठिन पर्ने भएको छ ।
 
कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । यो भनाइबाट सरकारले महामारी नियन्त्रणमा हात उठाएको हो? भन्ने प्रश्न उठेको छ ।
 
मन्त्रालयले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै काठमाडौं उपत्यकासहित २२ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको जनाएको हो । शुक्रबार मात्रै मुलुकभर ५ हजार ७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ हजारभन्दा बढी काठमाडौं उपत्यकामा छन् ।
 
मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जारी गरेको अपिलमा संक्रमण रोकथामका लागि सबैलाई जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । कुनै पनि मार्गबाट देशविदेश जानेआउने वा आन्तरिकरबाह्य पर्यटनका लागि कहींकतै जाने काम पूर्ण रूपमा नगर्नरनगराउन पनि अपिल गरिएको छ । 
 
सार्वजनिक स्थलमा नजान र भीडभाड नगर्न पनि भनिएको छ । ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबै जना संवेदनशील बनिदिनुहुन अनुरोध छ,’ अपिलमा भनिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयले जारी गरेका निर्देशन तथा आदेशको पालना सर्वसाधारणले नगरेकै कारण यो अवस्था आएको बताए । आजको कान्तिपुरमा खबर छ ।