कोरोना संकटका बेला मूल्यवृद्धिको ध्याउन्नमा व्यवसायी

बैशाख १९,२०७८

-

वैशाख १९, २०७८ काठमाडौं ।
कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, यकिन नभएकाले सर्वसाधारणले खाद्यान्न मौज्दातसमेत गर्न थालेका छन् ।
 
दुई-तीन दिनयता खाद्यान्नको मागसँगै मूल्य पनि बढिरहेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘सर्वसाधारणले मौज्दात राख्ने गरी किनिरहेका छन्,’ उनले भने, ‘त्यसको फाइदा उठाउँदै ठूला व्यवसायी (होलसेल र उत्पादक) ले चलखेल गरे । 
 
सबैको मिलेमतोमा मूल्य बढाइयो ।’ खाने तेल, चना, गेडागुडी र चिनीको होलसेल मूल्य बढेको हो । होलसेलमा मूल्य बढेपछि खुद्रा व्यवसायीले पनि सोहीअनुसार मूल्यवृद्धि गरिरहेका छन् । निषेधाज्ञाको मौका छोपी भइरहेको मूल्यवृद्धिका विषयमा संघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराइसकेको छ ।
 
‘मूल्यवृद्धिबारे सम्बन्धित निकायमा जानकारी गराएका छौं । मुख्यतः होलसेलले बिलबीजक नै जारी गरेनन् । सानो टुक्रा कागजमा बिल दिने गरेका छन् । सरकारी निकायले अनुगमन गर्दा यसबाट साना व्यवसायी नै फस्छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘बिल पाएको भए मूल्यसूची राख्न हुन्थ्यो । 
 
साना व्यापारीलाई समस्या भयो, त्यसैले स्रोतमै अनुगमन गर्न आग्रह गरिरहेका छौं ।’ जब जब नेपालमा संकटको अवस्था आउँछ, व्यवसायीले सबैभन्दा पहिले मूल्यवृद्धि गर्ने गरेको सरोकारवाला बताउँछन् । कान्तिपुरमा खबर छ ।