काठमाडौँ-तराईरमधेस द्रुतमार्ग निर्धारित समयमै पूरा गर्ने तयारी

बैशाख १९,२०७८

-आस्था न्यूज

वैशाख १९,२०७८ काठमाडौं ।
काठमाडौँ-तराईरमधेस द्रुतमार्ग (फास्ट-ट्र्याक) आयोजना निर्माणकार्य पूर्वनिर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
 
‘फास्ट–ट्र्याक’ परियोजना निर्माण बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा प्रश्न उठ्नुका साथै सार्वजनिक लेखा समितिले दुईवटा टनेल समेटिएको एउटा ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । सो निर्देशनपछि केही अल्मलिएको सेनाले काममा तीव्रता दिने जनाएको हो ।
 
त्यस्तै सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति र विकास तथा प्रविधि समितिका सदस्य सांसदहरूले पनि यही महिनाको पहिलो साता ‘फास्ट-ट्र्याक’को स्थलगत अवलोकन गरी निर्माणकार्यमा ढिलासुस्ती नगर्न सुझाव दिएका छन् ।
 
आर्थिक वर्ष २०७४/७५ बाट सुरु भएको फास्ट–ट्र्याकको निर्माण कार्य आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सेनाको कामबाट सन्तुष्ट सांसदहरूले निर्माण कार्य नरोक्न र प्रक्रिया अविलम्ब थाल्न सुझाएसँगै निर्माणको थप प्रक्रिया अगाडि बढाइएको हो । यो मार्गको कुल लम्बाइ ७२.५ किलोमिटर रहेको छ ।
 
“काठमाडौँ-तराईरमधेस द्रुतमार्ग निर्माण कार्यमा अवरोध होइन, चुस्त र पारदर्शी बनाउनुपर्छ भन्नेमा हाम्रो एकमत छ,” विकास तथा प्रविधि समितिका सभापति सांसद कल्याणकुमारी खड्काले भन्नुभयो । गोरखापत्रमा खबर छ ।