ओलीलाई विश्वासको मत दिनु पहिल्यै राजीनामा दिने एमाले खनाल-नेपाल समूहको तयारी
-आस्था न्यूज
वैशाख २२, २०७८ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिएलगत्तै आफूहरूलाई कारबाही गर्ने सूचना पाएपछि एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले त्यसअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
खनाल–नेपाल पक्षमा रहेका ३५ सांसदमध्ये २२ जना प्रत्यक्ष निर्वाचित छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले यसअघि नै किन कारबाही नगर्ने भनेर ३० जनालाई स्पष्टीकरण सोधिसकेका छन् । समानुपातिक सांसदले भने तत्काल राजीनामा नदिने गरी संवाद अघि बढाइएको नेपालनिकट नेताहरूले जनाएका छन् ।
माओवादी केन्द्रको समर्थनमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले ताकत भए समर्थन फिर्ता लिनू भन्दै बारम्बार ताकेता गरेका थिए । माओवादी केन्द्र अर्को सरकार बन्ने ग्यारेन्टी नहुँदासम्म समर्थन फिर्ता नलिने भनेर बसेको थियो । उसले मंगलबार भने प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ ।
योसँगै कुनै बेला दुई तिहाइ बहुमतको नेतृत्व गरेका प्रधानमन्त्री अल्पमतमा परेका छन् । तर ओलीले अल्पमतमा पर्नुअघि नै विश्वासको मत लिने घोषणा गरिसकेका थिए । ओलीले बजेट र आफ्नो योजनामा रहेको आगामी चुनावलाई केन्द्रित गर्दै विश्वासको मत लिन संसद्मा जाने निधो गरेका हुन् ।
बजेट अधिवेशनमा आफूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नै पास हुन नदिने विपक्षीहरूको रणनीति बुझेपछि ओलीले २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन बोलाएका छन् ।
कांग्रेस र माओवादी केन्द्रले ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । तर ओलीले आफ्नै एकताबद्ध पार्टी र बाँकी १३ सांसदले समर्थन गरे बाँकी अवधिका लागि सरकारको आयु लम्ब्याउन सक्छन् । त्यसैले जसपामा ओलीको पक्षमा कति सांसद खुल्छन्, त्यो आधारमा आफूहरूले रणनीति बनाउनुपर्ने एमालेको खनाल–नेपाल समूहभित्र बहस छ ।
यो समूहका अधिकांशले संसद्मा फ्लोर क्रस गरेर अराजनीतिक बन्नुभन्दा २७ गतेअघि नै राजीनामा दिनुपर्ने तर्क राखेका छन् । ‘ओलीजीले हामीलाई कुनै पनि हालतमा पार्टीमा रहन नदिने हुनुभयो, जुनसुकै हिसाबले पनि हामीलाई किनारा लगाउने र यहाँ बस्न नदिने गरी उहाँले कदम चाल्नुभएको छ,’ एमाले उपमहासचिव घनश्याम भुसालले भने, ‘अहिले एमाले पार्टी उहाँलाई बुझाउनुभन्दा सांसद पदको राजीनामा बुझाऔं भन्ने धेरै साथीहरूको मत छ ।’
ओलीले यसअघि गत वैशाख १२ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएका थिए । केन्द्रीय कमिटी बैठक बस्नुअघि भएको स्थायी कमिटी बैठकमा ओलीले स्पष्टीकरण सोधिएका नेपाल पक्षका सांसदलाई कारबाही गर्ने प्रस्ताव गर्दा ईश्वर पोखरेलबाहेक अरू नेताले अहिले त्यो कदम नचाल्न सुझाव दिएका थिए ।
‘अहिले उहाँहरूलाई कारबाही गरे एमालेकै संख्या घट्ने हो, अर्कातर्फ फ्लोर क्रस नै नभई गरेको कारबाहीको मान्यता हुन्छ कि हुन्न, टुंगो पनि छैन, अहिले त्यसो नगरौं, उहाँहरूले के गर्नुहुन्छ हेरौं,’ ओलीलाई दिएको सुझाव उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने ।
त्यसपछि हच्किएका ओली विश्वासको मत लिनेबित्तिकै स्पष्टीकरण सोधिएका सांसदलाई कारबाही गर्ने पक्षमा रहेको सूचना पाएपछि त्यसअघि नै आफूहरूले राजीनामा दिने मनस्थिति बनाएको नेपाल पक्षका अर्का एक पदाधिकारीले बताए । तर यो सबै विषयको छिनोफानो जसपाका कति सांसदले ओलीलाई समर्थन गर्छन्, त्यस आधारमा हुने उनले बताए ।
जसपाका ३२ मध्ये १८ जना सांसद अहिले ओलीविरोधी खेमामा भए पनि २७ गतेसम्म सांसदहरू को कता लाग्छन् टुंगो नभएको जसपा स्रोतको भनाइ छ । जसपाको कारणले प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था आयो भने एमालेका सांसदहरूले राजीनामा दिने नेपाल पक्षीय नेताहरूको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।