कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका चार लाख नेपालीले रोजगारी गुमाए

बैशाख २३,२०७८

-आस्था न्यूज

 बैशाख २३,२०७८ बिकाठमाडौं ।
कोरोनाको महामारीका कारण पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएर स्वदेश फर्किएका छन् ।
 
कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षको अवधिमा ६० देशबाट चार लाख ५३ हजार ८४७ जना फर्किएका छन् तर त्यो सङ्ख्याको रोजगारी व्यवस्थापनमा पहल नगर्दै नयाँ कोरोनाको त्रास बढेको छ ।
 
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामेश्वर फुयालले कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकाको व्यवस्थापनका लागि सरकारीस्तरबाट सकारात्मक काम भएको दाबी गर्नुभयो । 
 
उहाँले गत वर्षको कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकालाई व्यवस्थापन गर्न विभिन्न मन्त्रालयमार्फत झन्डै ११ लाखका लागि रोजगारी सिर्जना गर्नेगरी बजेट विनियोजन गरिएको र यसको समीक्षा हुन बाँकी रहेको बताउनुभयो ।
 
केन्द्रका अनुसार यस अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई)बाट एक लाख ४० हजार २१६ जनाले रोजगारी गुमाएर स्वदेश फकिएका छन् । यस्तै सो अवधिमा कतारबाट रोजगारी गुमाएर फर्किनेको सङ्ख्या एक लाख पाँच हजार ७७४ छ भने मलेसियाबाट ४८ हजार ४३५ जनाले रोजगारी गुमाएर फर्किए ।
 
त्यसैगरी साउदी अरबबाट ४१ हजार ६६८, कुवेतबाट २३ हजार ३४१, भारत (उडान)बाट ३६ हजार १९५, टर्कीबाट १३ हजार ६३४, जापानबाट १३ हजार ५२५ जना फर्किएका छन् ।
 
त्यसैगरी सिङ्गापुरबाट पाँच हजार ५०३, ओमनबाट पाँच हजार ३७६ र दक्षिण कोरियाबाट तीन हजार ५६२, चीनबाट तीन हजार ५५८, हङकङ र मकाउबाट तीन हजार १६४ जना सो अवधिमा फर्किएका छन् । आजको गोरखापत्रमा खबर छ ।