निषेधाज्ञा लगाइए पनि कोरोना सङ्क्रमण दर उच्च

बैशाख २३,२०७८

-आस्था न्यूज

बैशाख २३,२०७८ बिकाठमाडौं ।
नेपालमा कोरोना सङ्क्रमण विस्तारमा कमी आउन सकेको छैन । राजधानी उपत्यकालगायत धेरै जिल्लामा कोरोना विस्तारको साङ्लो चुडाल्न निषेधाज्ञा लगाइए पनि सङ्क्रमण दर अझै उच्च छ । गएको २४ घण्टामा आठ हजार ६५९ जना सङ्क्रमित भएका छन् भने ५८ जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
 
नेपालमा एकै दिन आठ हजार ६५९ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै यो एकै दिनमा सङ्क्रमित हुने सबैभन्दा बढी हो । एक दिनअघि मङ्गलबार सात हजार ६६० जनामा कोरोना सङ्क्रमण भएको थियो । मन्त्रालयले एक महिनाअघि प्रक्षेपण गरेको दैनिक ११ हजारसम्म सङ्क्रमितको सङ्ख्या हुने अनुमान थियो ।
 
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा बुधबार आठ हजार ६०५ जनामा कोरोना पुष्टि भएको जानकारी गराउनुभयो । यस्तै ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
 
थप सङ्क्रमितसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३५२ पुगेको छ । डा. गौतमका अनुसार क्वारेन्टाइनमा ३१८ जना रहेका छन् । गोरखापत्रमा खबर छ ।