संसद्का कर्मचारीलाई आजदेखि दोस्रो चरणको खोप लगाइने

बैशाख ३१,२०७८

-आस्था न्यूज

बैशाख ३१, २०७८ काठमाडौं ।
 
सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई शुक्रबारदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने भएको छ । 
 
सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरेको हो । पदाधिकारी, सदस्यहरू, स्वकीय सचिवालयका कर्मचारी, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई फरक फरक बार तोकिएको छ ।
 
पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ हप्ताको अवधि पूरा गरेका, खोप लगाएपछिको अवधिमा कोरोना सङ्क्रमित भए पनि २८ दिनको समयावधि पूरा गरेका व्यक्तिले दोस्रो डोज खोप लगाउन पाउनेछन् ।
 
सचिवालयका अनुसार शुक्रबार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूको पालो तोकिएको छ । यस्तै शुक्रबार नै सभामुख, अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूका स्वकीय सचिवालयका कर्मचारीको पनि खोपको पालो तोकिएको छ ।