मध्यपुर थिमिमा नेपाल-कोरिया अस्पतालले थाल्यो अक्सिजन उत्पादन

जेठ ०१,२०७८

-आस्था न्यूज

जेठ १,२०७८ काठमाडौं ।
मध्यपुर थिमि नगरपालिकाले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा अक्सिजन उत्पादन सुरु गरेको छ ।
 
कोरोना संक्रमितको चाप बढेसँगै अक्सिजनको माग बढ्दो छ । मौज्दात अक्सिजन सिलिन्डरले नधान्ने अवस्था आएपछि अस्पतालमा ‘एयर बेस अक्सिजन प्लान्ट’ जडान गरिएको मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।
 
नगरपालिकाको ६५ लाख रुपैयाँ खर्चमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक १ लाख ९२ हजार लिटर अर्थात् ३२ सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । सुरुमा दैनिक ३२ सिलिन्डर अक्सिजन उत्पादन हुने र केही थप प्रविधि जडानपछि दैनिक ९० सिलिन्डरसम्म उत्पादन गर्न सकिने नगरप्रमुख श्रेष्ठ बताउँछन् । अक्सिजन प्लान्ट शुक्रबारबाट सञ्चालनमा आएको हो ।
 
नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा ४३ जना कोरोना संक्रमित उपचाररत छन् । ती बिरामीका लागि दैनिक करिब ७० सिलिन्डर अक्सिजन आवश्यक पर्छ । तत्कालका लागि प्लान्टबाट उत्पादित अक्सिजन उपचाररत बिरामीका लागि पर्याप्त नभए पनि केही राहत हुने अस्पतालका प्रशासकीय अधिकृत रूपेश श्रेष्ठले बताए ।
 
अक्सिजन अभावका कारण अस्पतालले थप बिरामी भने भर्ना लिन सकेको छैन । अक्सिजन उत्पादनमा वृद्धि भएसँगै अस्पतालले संक्रमित बिरामीलक्षित थप २० शय्याको एचडीयू कक्ष सञ्चालनमा ल्याउने जनाएको छ ।आजको कान्तिपुरमा खबर छ ।