Trending :
 

काठमाडौँ-तराई सुरुङमार्ग र हाइब्रिज निर्माण सम्झौता

जेठ ०३,२०७८

-आस्था न्यूज

जेष्ठ ३,२०७८ काठमाडौं ।
काठमाडौँ-तराईरमधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।
 
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गको ‘माइलस्टोन’को रूपमा लिइएको सुरुङमार्ग तथा हाइब्रिज (मोटरेबल पुल) निर्माण गर्न सुरुङको प्याकेज-१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्राइभेट लिमिटेड र प्याकेज-२ का लागि चीनकै पोली च्याङ्दा कन्सट्रक्सन कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता भएको द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा दिइएको जानकारी दिनुभयो ।
 
उहाँका अनुसार सम्झौतापत्रमा द्रूतमार्गतर्फबाट आयोजना प्रमुख एवं नेपाली सेनाका प्राविधिक सहायक रथी विकास पोखरेल तथा निर्माण कम्पनीका तर्फबाट प्याकेज-१ का लागि चाइना स्टेट कन्स्ट्रक्सनका कार्यकारी निर्देशक सु यान र प्याकेज-२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सनका प्रोजेक्ट प्रबन्धक प्रमुख श्रीमती सु तिनग्यु बारबराले हस्ताक्षर गर्नुभएको थियो ।
 
‘‘सम्झौताअनुसार दुईवटै प्याकेजको डिजाइनका लागि छ महिनासहित कुल निर्माण अवधि साढे तीन वर्ष रहेको छ’’ सैनिक प्रवक्ता पौडेलले भन्नुभयो, ‘‘पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपियाँ रहेको छ ।’’ द्रुतमार्ग निर्माणको कुल लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ प्रारम्भिक अनुमान गरिएको छ । गोरखापत्रमा खबर छ ।