Trending :
 

निर्वाचनमा जुट्न आयोगलाई ओलीको निर्देशन

जेठ ०९,२०७८

-आस्था न्यूज

जेठ ९,२०७८ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्नुहुँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो ।
 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ अगाडि बढेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगका सबै आयुक्त र सचिव जानुभएको थियो । आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ ।
 
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको अवस्था र निर्वाचन गर्नुपर्ने कारणलगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल गरिएको जानकारी दिँदै तुरुन्तै निर्वाचन व्यवस्थापनको काम थाल्ने विषयमा कुराकानी भएको बताउनुभयो ।
 
निर्वाचनका लागि कानुनी प्रावधानअनुसार आयोगको काम अगाडि बढ्ने स्पष्ट पार्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “निर्वाचन घोषणा भएदेखि मतदाता नामावली दर्ता रोक्नुपर्ने कानुनी व्यवस्था छ । 
 
तसर्थ आइतबारबाट यो कार्य रोकिने छ ।” सकेसम्म एकै चरणमा चुनाव गर्ने, सुरक्षाको व्यवस्था, आवश्यक बजेटको तयारी र स्रोत–साधनको तयारीमा आयोग जुट्ने थपलियाले स्पष्ट पार्नुभयो । निर्वाचनका लागि पर्याप्त समय भएको चर्चा गर्दै उहाँले १२० दिन आवश्यक पर्नेमा त्योभन्दा बढी नै समय भएको बताउनुभयो । आजको गोरखापत्रमा खबर छ ।