Trending :
 

सामाजिक सुरक्षा योजनामा आबद्धलाई सुविधाबाट वञ्चित गराउने अर्को बैङ्क पनि कारबाहीमा

जेठ १२,२०७८

-आस्था न्यूज

जेठ १२, २०७८ काठमाडौं ।
सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन अटेर गरी कर्मचारीलाई सुविधाबाट वञ्चित गराउने अर्को एक बैङ्कलाई कारबाही गरेको छ । कोषले पछिल्लो पटक ग्लोबल आईएमई बैङ्कलाई कारबाही गरेको हो ।
 
कोषको योगदानमा सहभागी नभएको उक्त बैङ्कका एक कर्मचारीको मृत्यु भएपछि मृतकको परिवारले दिएको मागदाबीका आधारमा उक्त बैङ्कलाई कोषले कारबाही गरेको हो । यसअघि यस्तै मागदावीका आधारमा सनराइज बैङ्कलाई कोषले कारबाही गरेको थियो ।
 
अहिले कारबाहीमा परेको उक्त बैङ्कका सञ्चालक नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल कोषका सञ्चालक समिति सदस्यको जिम्मेवारीमा समेत हुनुहुन्छ ।
 
कोषका अनुसार उक्त बैङ्कमा कार्यरत अन्नतकुमार आचार्यको मृत्युपछि निजले मासिक रूपमा लिँदै आएको ३७ हजार पारिश्रमिकको ६० प्रतिशतका दरले हुने आश्रित परिवार सुविधा योजनाअन्तर्गतको पेन्सन रकम दाबीसहित परिवारले गएको केही दिनअघि कोषमा उजुरी परेको थियो । 
 
मृतक आचार्यकी श्रीमती भावना पाठकले बैङ्कमा कार्यरत रहँदै गर्दा श्रीमान्को मृत्यु भएकाले आश्रित परिवारले सुविधा पाउनुपर्ने माग गर्नुभएको थियो । उक्त बैङ्कमा कार्यरत आचार्यको गएको फागुन ८ गते मृत्यु भएको थियो । आजको गोरखापत्रमा खबर छ ।