राष्ट्रपति भण्डारीले छिमेकी देशसँग ‘खोप कूटनीति’ अघि बढाईन्
-आस्था न्यूज
जेठ १३, २०७८ काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ रोकथाम र नियन्त्रणमा अति आवश्यक खोप ल्याउनका लागि दुवै छिमेकी चीन र भारतसँग ‘खोप कूटनीति’ अघि बढाएकी छन् । मुलुकमा कोभिड संक्रमण र त्यससँगै मृत्युदरसमेत बढिरहेको अवस्थामा राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउनका निम्ति चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बुधबार टेलिफोन संवाद गरिन् भने मंगलबार उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर अनुरोध गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीसँगको संवादमा चिनियाँ समकक्षीले नेपाललाई थप १० लाख खोप अनुदानमा दिने घोषणा गरेका छन् ।
चिनियाँ राष्ट्रपति सीसँग झन्डै ४० मिनेट भएको संवादमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले यसअघि गरेको सहयोगलाई लिएर धन्यवाद व्यक्त गर्नुका साथै खोप खरिदका निम्ति सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् । जवाफमा सीले नेपाललाई थप १० लाख खोप तत्काल दिने र नेपाललाई चाहिएको अरू खोप खरिद गर्ने सम्बन्धमा आफ्नोतर्फबाट सहजीकरण गरिदिने वचन दिए ।
‘अहिले नेपाली जनताको जीवन बचाउन आवश्यक छ, नेपाललाई खोप अतिआवश्यक छ, खोप खरिदका लागि सहजीकरण गरिदिनुहुन आग्रह गर्छु,’ राष्ट्रपति भण्डारीले सीसँग गरेको आग्रह उद्धृत गर्दै राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले कान्तिपुरसँग भने । त्यसपछि सीले अनुदानमा दिने खोपबाहेक नेपाललाई अरू खोप खरिदमा पनि सहजीकरणदेखि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे ।
काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता चाङ सीले खोप खरिदका सम्बन्धमा नेपाली पक्ष र चिनियाँ सरकारी कम्पनी सिनोफार्म सम्पर्कमा रहेको जानकारी दिए । ‘सिनोफार्मका अधिकारीहरूले नेपाललाई उपलब्ध गराउन सक्ने खोपको संख्या, लागत र कति समयमा खोप उपलब्ध गराउन सकिन्छ भन्नेजस्ता विषयमा बेइजिङस्थित नेपाली दूतावासलाई जानकारी दिइसकेका छन् । अब नेपाली दूतावासमार्फत जवाफ आएपछि खरिदको प्रक्रिया के हुन्छ भन्ने थाहा हुन्छ,’ चाङले भने । चीनले यसअघि नेपाललाई सिनोफार्मबाटै उत्पादित ८ लाख थान भेरोसेल खोप सहयोगस्वरूप दिएको थियो । उक्त खोप १८ वर्षदेखि ५९ वर्षभित्रका मान्छेले मात्र लगाउन मिल्छ । आजको कान्तिपुरमा खबर छ ।