४० वर्षअघि पाटनको तलेजुबाट चोरिएका तोरन-मूर्ति फ्रान्समा लिलामीमा
-आस्था न्यूज
जेठ २१, २०७८ काठमाडौं ।
करिब ४० वर्षअघि पाटनको विश्वसम्पदा क्षेत्रको तलेजु मन्दिरबाट हराएका १२ तोरन-मूर्तिमध्ये ५ वटा हिन्दू प्रतीकका विशिष्ट मूर्तिहरु फ्रान्सको राजधानी पेरिसमा रहेको ‘बोनह्याम्ज’ कला बिक्री केन्द्रमा लिलामीमा राखेको पाइएको छ ।
पाटन दरबारको तलेजु मन्दिरको मूल ढोकामाथि तोरनमा रहेका तामामा सुनको जलप लगाइएका प्रतिकात्मक महालक्ष्मी, नृत्यनाथ, चामुन्डा, भैरव र पञ्चमुखी हनुमानका यी मूर्तिलाई प्रतिसम्पदाको बढीमा ५ हजार युरो मूल्य तोकिएको छ । १० दिनका लागि खुलाइएको सम्पदा बिक्री जेठ २७ सम्म जारी रहने ‘बोनह्याम्ज’को बिक्री अनलाइनले बताएको छ ।
सम्पदाविद् रवीद्र पुरीका अनुसार, एउटा विशिष्ट कला-सम्पदाले भरिएको प्राचीन मन्दिरको मूल ढोकामाथि रहने तोरनमा त्यस मन्दिरभित्र रहेका मूर्ति-सम्पदाको प्रतिकात्मक आकृति राख्ने चलन हुन्छ ।
त्यही चलनमा तलेजु मन्दिरको तोरनमा राखिएका १२ वटा मूर्ति सन् ७० को दशकमै चोरी भएका थिए । अहिले तलेजुमा चोरिएका मूर्तिहरुको प्रतिलिपि आकृति तोरनमा राखिएको छ ।
यी प्राचीन सम्पदा १२ औं शताब्दीयताको रहेको ऐतिहासिक अभिलेखहरुमा उल्लेख छ । यी सम्पदाबारेमा भारतीय इतिहासविद् बीएन बेनर्जीको ‘आर्कियोलोजिकल सर्भे अफ इन्डिया९आर्किटेक्चर अफ नेपाल०, जर्मन अध्येता सिकको ‘गड्स आर लिभिङ द कन्ट्रीः आर्ट थेफ्ट फ्रम नेपाल’ आदिमा समेत उल्लेख गरिएको सम्पदाविद् पुरीले जानकारी दिए । आजको कान्तिपुरमा खबर छ ।