रोपाइँ सुरु नहुँदै ठाउँठाउँमा मलको अभाव
-आस्था न्यूज
जेठ २१,२०७८ काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसपालि धान रोपाइँका बेला मलको हाहाकार नहुने भन्दै किसानलाई ढुक्क रहन भन्दै आएको छ तर रोपाइँ सुरु नहुँदै ठाउँठाउँमा मलको अभाव देखिन थालेको छ ।
मल बिक्री वितरणको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि मल अभाव हुने सङ्केत गरिसकेका छन् ।
साल्ट ट्रेडिङका बिक्री प्रबन्धक पङ्कज जोशीले भन्नुभयो, “नेपालमा प्रतिकिसान तीन बोरा मल चाहिन्छ तर हामीले एक बोरा पनि राम्रोसँग दिन सकिरहेका छैनौँ । अनि मलको अभाव छैन भनी कसरी भन्न सकिन्छ । ” यसको मुख्य कारण दुवै संस्थाले मूल्य समायोजन नै रहेको भन्छन् ।
रासायनिक मलको अन्तर्राष्ट्रिय बजार मूल्य र डलरको मूल्य वृद्धि भइरहँदा पनि सरकारले दिएकै रकमबाट मल ल्याउनुपर्छ । अन्तर्राष्ट्रिय मूल्य बढेका कारण लक्ष्यअनुसार मल ल्याउन सकिँदैन र किसानलाई मल अभाव हुन्छ । सरकारले दिएको रकमले कहिल्यै पनि किसानलाई मल पुगेको छैन ।
खुला सीमामा किसान भर नपरेको भए नेपालमा अहिले देखिएकोभन्दा धेरै ठूलो हाहाकार देखिन सक्छ । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार चालू आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारले ११ अर्ब रुपियाँ छुट्याएको छ ।
त्यो रकमले अहिलेको अन्तर्राष्ट्रिय मूल्य र डलरको मूल्यअनुसार चार लाख मेट्रिक टन पनि मल आएको छैन । जब कि नेपाललाई वार्षिक सात लाख मेट्रिक टनभन्दा बढी मल चाहिन्छ । यस आधारमा चालू आवमा मात्र तीन लाख मेट्रिक टन अभाव हुनसक्छ ।
“आगामी आवका लागि सरकारले १२ अर्ब रुपियाँ रासायनिक मलका लागि छुट्याइएको छ । आजको गोरखापत्रमा खबर छ ।