Trending :
 

सूर्यविनायक-धुलिखेलसम्मको सडक विस्तार हुने

जेठ ३०,२०७८

-आस्था न्यूज

जेठ ३०,२०७८ काठमाडौं ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार हुने भएको छ । दुई लेनमा रहेको सो सडक विस्तार भएपछि चार लेनको हुने छ । सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भइसकेको सो सडक विस्तारका लागि आगामी आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकभित्रमा नै बोलपत्र आह्वान गरिने सडक विभागले जनाएको छ ।
 
विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र डिजाइनसमेत तयार भई स्वीकृत भइसकेको बताउँदै नयाँ आर्थिक वर्षको सुरुदेखि नै निर्माण प्रक्रिया सुरु गरी आर्थिक वर्षको पहिलो चौमासिकभित्रमा नै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो । 
 
उहाँले सो सडक विस्तारका लागि नयाँ बजेट वक्तव्यमा रकम विनियोजन गरिएकाले अब निर्माण प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ नभएको स्पष्ट पार्नुभयो ।
 
सो सडकका लागि दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरी डिभिजन सडक कार्यालय भक्तपुरले गत वर्षदेखि नै सो सडकखण्ड क्षेत्रमा परेका संरचनाहरू हटाउन तथा रुख कटान सुरु गरिसकेको छ । सो सडक विस्तारका लागि करिब आठ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
 
महानिर्देशक थापाले कुल १५ किलोमिटर लम्बाइ रहेको सो सडकखण्डमा चार लेनमा विस्तार गरिने गरी डिजाइन गरिएको बताउनुभयो । 
 
सो सडकखण्डमा छ स्थानमा आकाशेपुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण गरिने छ । उहाँले भन्नुभयो, “यो सडकखण्ड विस्तारका लागि सडक विभागका साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले समेत डीपीआर तयार पारेको छ । सडक विभागको डीपीआरको तुलनामा जाइकाले तयार पारेको डीपीआरअनुसार विस्तार गर्दा तीन गुणाभन्दा बढी लागत बढ्ने भएकाले विभागको डीपीआरअनुसार विस्तार गरिने छ । ”
 
उहाँका अनुसार जाइकाले तयार पारेको डीपीआरमा आठ लेनको सडक विस्तार तथा भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्रको साँगामा एक दशमलव २९ किलोमिटर सुरुङमार्गसमेत प्रस्ताव गरिएको छ । त्यसैगरी जाइकाले अहिलेको सडकको ‘एलाइनमेन्ट’ परिवर्तन हुने गरी डीपीआर तयार गरेको छ ।
 
जाइकाको डीपीआरअनुसार विस्तार गर्दा १० अर्ब रुपियाँभन्दा बढीको जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । विभागका महानिर्देशक थापाले जाइकाको डीपीआरअनुसार सो सडकखण्ड विस्तारको लागत करिब ३० अर्ब रुपियाँ हुने देखिएको बताउनुभयो । आजको गोरखापत्रमा खबर छ ।