असारको सुरुवातमै बाढी, पहिरो र डुबानबाट ठुलो क्षति
-आस्था न्यूज
असार २,२०७८ काठमाडौं ।
नेपालमा मनसुन सक्रिय भएसँगै देशव्यापी रूपमा अविरल वर्षा हुँदा बाढी, डुबान र पहिरोले जनधनको क्षति पु(याउन थालेको छ । बाढीले बगाएर तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् ।
बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बूढीनन्दा नगरपालिकाकी वर्ष ३५ की मोतीकला लोहारलाई बड्डीगाड खोलाले सोमबार राति बगाएकोमा मङ्गलबार शव फेला परेको हो । बाजुराकै त्रिवेणाी नगरपालिकाका १२ वर्षीय बालक कमल बुढालाई किन्नी खोलाले बगाउँदा बेपत्ता छन् ।
यस्तै गोरखाको स्थानीय खोला तर्न खोज्दा एक मजदुरलाई बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै, सल्यानमा खहरे खोलाले बगाएको अवस्थामा दुई जनाको शव भेटिएको डीएसपी गोविन्द थापाले जानकारी दिनुभयो । दाम्ना गाउँपालिका वडा नम्बर ५ को ठूलो खोलाले बगाएको अवस्थामा ३० वर्षीय गीता खड्काको शव फेला परेको हो । त्यस्तै दाम्ना-४ का ४५ वर्षीय वीरमान विकको शव खानीखोलाले बगाएको अवस्थामा फेला परेको हो । आजको गोरखापत्रमा खबर छ ।