मेलम्ची बाढीमा तीन जनाको मृत्यु, १७ जना अझै बेपत्ता
-आस्था न्यूज
असार ४,२०७८ काठमाडौं।
मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् ।
एक चिनियाँ नागरिक र एक भारतीय नागरिकको शव सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकामा र एक जना चिनियाँ नागरिकको इन्द्रावती–११ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । सम्पर्कविहीन भएका त्रिपुरासुन्दरी–१ का देव खत्री, राम थापा, सुभाष जिरेल र कमल खत्रीको नेपाली सेनाले उद्धार गरेको छ । बाढीमा परी मेलम्ची नगरपालिका–४ का कुमार तामाङसहित दुई भारतीय र दुई जना चिनियाँ नागरिक घाइते भएका छन् । घाइतेको बी एन्ड बी र मेलम्ची सुरक्षा बेस क्याम्पमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका ६५ जनालाई चिनो हाइड्रोपावर ललितपुरनजिक स्थानान्तरण गरिएको छ । त्यस्तै मेलम्ची खानेपानीमा कार्यरत मजदुर तथा बाढीबाट प्रभावित अन्य स्थानीयवासीसहित थप ९४ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा दुई भारतीय र एक चिनियाँ नागरिकसहित हेलम्बु गाउँपालिका–२ का माधव भण्डारी, ज्ञानेन्द्र कक्षपति र गणेश ज्योति, हेलम्बु–३ की टीकामाया खड्का, हेलम्बु–६ का च्याङ्गा तामाङ र काली तामाङ, हेलम्बु–१ का सुनील, पूर्ण, कामी तामाङ र उहाँकी आमा, चौतारा साँगाचोकगढी नगरपालिका–१४ का सुरेन्द्र नेपाल, ठेगाना नखुलेको होमराज घिमिरे र विजय बासुमन्तरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । रितेकतेकमा मेलम्ची खोला दुई पहाडबीचको खोँच भएर बग्ने र खोला थुनिएर फुटेकोजस्तो देखिएको हेलिकप्टरबाट अवलोकन गरेर फर्किनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले बताउनुभयो । “माथिल्लो क्षेत्रमा पनि जोखिम कायमै देखिन्छ, रितेकतेकमाथि पनि स–साना पहिरो गएको जस्तो देखिन्छ तर मौसम नखुलेकोले प्रस्ट देख्न सकिएन,” मन्त्री तामाङले भन्नुभयो । आजको गोरखापत्रमा खबर छ ।