बाढीपहिरोले अवरुद्ध १८ वटा सडक पुनः सञ्चालनमा
-आस्था न्यूज
असार ४,२०७८ काठमाडौं।
मनसुन सक्रिय भएसँगै केही दिनयता परेको अविरल वर्षाका कारण मुलुकभरि बाढीपहिरोले अवरुद्ध भएका राजमार्ग र सडकमध्ये १८ वटा पुनः सञ्चालनमा ल्याइएको छ ।
सडक विभागका अनुसार बाढीपहिरोका कारण अहिलेसम्म ३१ ठाउँमा सडक अवरुद्ध भएकोमा १८ ठाउँमा पुनः सञ्चालनमा ल्याइएको हो । जसमध्ये तीन ठाउँमा दुईतर्फी र १५ ठाउँमा एकतर्फी सञ्चालनमा ल्याइएको हो । अवरुद्ध १३ ठाउँमा अवरोध हटाउने प्रयास भइरहेको सडक विभागका महानिर्देशक अर्जुनजङ्ग कार्कीले जानकारी दिनुभयो ।
महानिर्देशक थापाका अनुसार, पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुर जिल्लाको गैँडाकोट धुम्सी खण्ड, पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मुग्लिन खण्डमा र राप्ती राजमार्गअन्तर्गत सल्यानको शङ्खमूल भन्ने ठाउँमा पहिरो हटाई राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।
त्यसैगरी, सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको पिपलडाँडा भन्ने ठाउँमा, कर्णाली राजमार्गअन्तर्गत दैलेखको बाँगेसिमल-कालाखाला सडकखण्ड र कालाखाला-सैन सडकखण्ड र दरबारे-बोटखाला सडकखण्ड र खोड्पे-चैनपुर राजमार्गअन्तर्गत बैतडीको ढोल्यामोड भन्ने ठाउँको अवरोध हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
त्यसैगरी, सिद्धार्थ राजमार्गअन्तर्गत कालीमाटी सिसुवा भन्ने ठाउँमा, सुर्खेत तल्लो डुङ्गेश्वर-सातखम्बा-दुल्लु-पिपलकोट-खुलालु-मान्मा-नाग्मा-जुम्ला सडकअन्तर्गत कालीकोटको बालीघाट धनाडा भिग्म भन्ने ठाउँ, तानसेन-रिढी-कोरला राजमार्गअन्तर्गत पाल्पाको ढुङ्गाखानी भन्ने ठाउँ, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको ड्याम साडट र राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट भन्ने ठाउँको अवरोध हटाई सडक एकतर्फी सञ्चालनमा ल्याइएको महानिर्देशक थापाले जानकारी दिनुभयो ।
त्यसैगरी, पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पर्वतको सहस्रधारा भन्ने ठाउँ, पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको धुम्सी भन्ने ठाउँ, खोड्पे-चैनपुर राजमार्गअन्तर्गत बझाङको दुम्री खोला भन्ने ठाउँ, सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको गौँडेपुल भन्ने ठाउँ र मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको पानीटङ्की भन्ने ठाउँको अवरोध हटाई एकतर्फी रूपमा सडक पुनः सञ्चालनमा ल्याइएको छ । आजको गोरखापत्रमा खबर छ ।