असार ७ पछि पनि सबै व्यवसाय बन्द गरिए स्वीकार्य नहुने व्यवसायीको चेतावनी

आषाढ ०५,२०७८

-आस्था न्यूज

असार ५,२०७८ काठमाडौं ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले विभिन्न २१ वटा संघका अध्यक्षहरुसँगको छलफलबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई कसरी लकडाउन सहज बनाउने भन्ने विषयमा सुझाव दिएका छन् । 
 
काठमाडौंका प्रमुख जिल्ला अधिकारी र महासंघका अध्यक्षबीच गत शुक्रबार निषेधाज्ञा खुला गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको थियो ।
 
छलफलमा ७ असारपछि पनि सबै व्यवसाय बन्द गरिए स्वीकार्य नहुने व्यवसायीहरुले बताए । कसरी सहज बनाउन सकिन्छ भनेर लिखित रुपमै सुझाव मागेपछि सुझाव दिएको महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।
 
कटुवालका अनुसार महासंघले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर अब सबै प्रकारका व्यापार व्यवसाय खुला गर्न राय दिएको छ । ‘बिहान ९ बजेदेखि १ बजेसम्म होलसेल पसल खुला गर्ने अनि १ बजेदेखि साँझ ६ बजेसम्म खुद्रा पसल खुला गर्न प्रस्ताव गरेका छौं,’ उनले भने, ‘तर व्यापार व्यवसायमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गराउनु पर्ने सुझावमा उल्लेख गरिएको छ ।’
 
मल तथा सपिङ सेन्टरहरुहरुमा एउटा मात्रै प्रवेशद्वार प्रयोग गर्ने, प्रवेशद्वारमा थर्मल गनबाट तापक्रम प्रयोग गर्ने, मास्क र स्यानिटाइजर अनिवार्य गर्ने सुझावमा उल्लेख छ । व्यापारिक मलहरु हरेक दुई दिनमा पूर्ण स्यानिटाइज गर्ने, डिजिटल कारोबारलाई प्राथमिकतामा राख्ने लगायतका सुझाव सीडीओलाई दिएको उनले बताए ।