वर्षा र बाढीका कारण जलविद्युत्मा दस अर्बको क्षति

आषाढ ०७,२०७८

-आस्था न्यूज

असार ७,२०७८ काठमाडौं ।
 
गत साताको अविरल वर्षा र बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइन अवरुद्ध हुँदा करिब १० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीका कारण करिब डेढ दर्जन निजी र केही नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजना प्रभावित भएका थिए । प्राधिकरण स्वामित्वका सबै आयोजना अहिले सुचारु रहे पनि निजी क्षेत्रका आयोजना सुचारु हुन सकेका छैनन् ।
 
अविरल वर्षा र बाढीका कारण मादी मस्र्याङ्दी र दोर्दी करिडोरमा रहेका आयोजनाहरू बढी प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको सङ्घ ९इप्पान०का अनुसार डेढ दर्जन आयोजनाले प्रत्यक्ष क्षति बेहोरेका छन् । बन्दाबन्दी मौसमी प्रतिकूलताका कारण कतिपय आयोजना स्थलमा नै पुग्न सक्ने अवस्था नहुँदा वास्तविक क्षतिको विवरण लिन समस्या परेको इप्पानका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो ।
 
बाढीले सञ्चालनमा रहेका आयोजनाका बाँध, विद्युत् गृहमा समेत क्षति पुगेका कारण त्यस्ता आयोजनाको विद्युत् उत्पादन नै ठप्प छ भने कतिपय प्रसारण लाइन टुट्दा विद्युत् उत्पादन नै स्थगित गर्नुपरेको छ ।
 
५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, २५ मेगावाटको अपर मादी, १३ मेगावाटको सिम्ले र १२ मेगावाटको नागार्जुन जलविद्युत् अयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यसबाहेक राष्ट्रिय प्रणालीमा नजोडिएका केही आयोजना पनि अहिले ठप्प छन् ।
 
बाढीकै कारण प्राधिकरण मातहतका काली गण्डकी ए, मस्र्याङ्दी, मध्य मस्र्याङ्दीलगायतका आयोजना केही समय बन्द रहे पनि अहिले उत्पादन सुचारु भइसकेको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । आजको गोरखापत्रमा खबर छ ।