Trending :
 

झापामा पहिलो पटक भित्रियो मकै र धान सुकाउने मेसिन

आषाढ १०,२०७८

-आस्था न्यूज

असार १०, २०७८ काठमाडौं ।
झापामा पहिलो पटक मकै र धान सुकाउने मेसिन सञ्चालनमा ल्याइएको छ । मकै जोन क्षेत्रका किसानको मकै तथा चैते धान थन्याउने समयमा हुने क्षति कम गरी आम्दानी बढाउने उद्देश्यले प्रदेश सरकारको लागत साझेदारीमा यो मेसिन कनकाई नगरपालिकामा भित्र्याइएको हो ।
 
आदर्श एग्रो प्रालि कनकाई नगरपालिका–५ ले उक्त ड्रायर प्रयोगमा ल्याएको हो । अगुवा किसान तथा मकै जोन सञ्चालक समितिका खगेन्द्र सिलवालले आफूजस्तै आठ जना किसान आबद्ध रहेर एक करोड ३२ लाख रुपियाँभन्दा बढी लगानी गरेर मेसिन ल्याइएको बताउनुभयो ।
 
आफूहरूले ‘मल्टी ग्रेन ड्रायर’ सञ्चालनमा ल्याएको सिलवालले बताउनुभयो । यसमा प्रदेश सरकारले ८० लाख रुपियाँ अनुदान दिएको जनाइएको छ । हामीले ४० लाखभन्दा बढी लगानी गरेका छौँ, सिलवालको भनाइ छ । उत्पादनदेखि भण्डारणसम्म प्रविधिको प्रयोग गर्न आवश्यक तयारी पनि गरिरहेको उहाँले जानकारी दिनुभयो ।
 
यसले दैनिक ७५ मन प्रतिघण्टासम्म मकै तथा धान सुकाउने काम गर्ने भएकाले स्थानीय किसानलाई अब समस्या नहुने पनि बताइन्छ । अहिले प्रतिघण्टा ३० मनका दरले मकै तथा धान सुकाउँदै गरेको तर क्षमता भने प्रतिघण्टा ७५ मन रहेको सिलवालले जानकारी दिनुभयो । अब मकै तथा धान सुकाएर भाउ पाएको दिन बिक्री गर्न सहज हुने पनि उहाँको भनाइ छ ।
 
चैते धान तथा मकै सुकाउने उपकरणको अभावमा किसान बिचौलियाले तोकेको दाममा धान तथा मकै बिक्री गर्न बाध्य रहेका थिए । चिसो धान तथा मकै राख्दा बिग्रने भएकाले जतिमा बिक्छ त्यतिमा बेच्नुपर्ने बाध्यता किसानको थियो । ठूला मिलबाहेक किसानको पहुँचमा सुकाउने मेसिन नहुँदा समस्या रहेको थियो ।
 
झापामा गत वर्षदेखि धान सुपरजोन विस्तार भएको छ । सीमित पालिकामा रहेको धान सुपरजोन जिल्लाभर विस्तार भएको हो । मकै जोन पनि सुरु भएको छ । उत्पादन बढे पनि बजारीकरणमा समस्या रहेको छ ।
 
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीका अनुसार मकै तथा धान सुकाउन समुदायस्तरमा पहिलो पटक मल्टि ग्रेन ड्रायर जिल्लामा भित्रिएको हो । 
 
परियोजनाले पनि बारम्बार रूपमा ड्रायरमा साझेदारी गर्न खोजे पनि ड्रायरका लागि आएको बजेट प्रयोग हुन नसकेको उहाँको भनाइ छ ।आजको गोरखापत्रमा खबर छ ।