Trending :
 

माथिल्लो तामाकोसीको सुरुङ परीक्षण सकियो, आगामी साता उत्पादन सुरु गर्ने

आषाढ १३,२०७८

-आस्था न्यूज

असार १३,२०७८ काठमाडौं। 
 
आगामी साता माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु हुने भएको छ । आयोजनाको सुरुङमा परीक्षण शनिबार मध्यराति सकिएको छ ।
 
योसँगै आयोजनाको अन्य प्राविधिक परीक्षण आज (आइतबार) देखि सुरु हुने आयोजनाका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘सुरुङ परीक्षण करिब करिब सकियो,’ उनले भने, ‘आइतबारदेखि अन्य प्राविधिक परीक्षण गरेर आगामी सातादेखि परीक्षण उत्पादन सुरु हुन्छ ।’
 
माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत्लाई न्यु खिम्ती सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । तामाकोसी करिडोरमा उत्पादित सबै विद्युत्लाई यही सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोड्ने प्राधिकरणको योजना छ । यसअघि तामाकोसीबाट उत्पादित विद्युत् खिम्ती सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोड्ने भनिएको थियो । तामाकोसी प्रसारण लाइन र न्यु खिम्ती सबस्टेसन निर्माणको काम बिहीबारसम्म सकिने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।
 
प्राधिकरणको प्रणाली सञ्चालन विभागले शनिबार सूचना जारी गर्दै माथिल्लो तामाकोसीलाई राष्ट्रिय विद्युत् प्रणालीसँग जोड्ने क्रममा आइतबारदेखि एक साता खिम्ती-लामोसाँघ १३२ केभी प्रसारण लाइन बन्द हुने बताएको छ । 
 
यो प्रसारण लाइन बन्द हुँदा प्रणालीमा विद्युत् अपुग हुने भन्दै औद्योगिक ग्राहकहरूको लागि केही समय विद्युत् कटौती हुन सक्ने जनाइएको छ । परीक्षण सकिएलगत्तै आगामी साता पहिलो युनिटबाट परीक्षण उत्पादन गर्ने र हरेक साता थप एक युनिटबाट परीक्षण सुरु गर्ने आयोजनाको तयारी रहेको प्रवक्ता न्यौपानेले बताए । आयोजनामा ६ वटा युनिट छन् । हरेक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
 
निर्माण सुरु भएको करिब एक दशकपछि राष्ट्रिय गौरवको यो आयोजना परीक्षण उत्पादनको नजिक पुगेको हो । यसअघि भूकम्पबाट प्रभावित आयोजना ठेकेदारको लापरबाहीका कारण थप ढिला हुन पुगेको थियो । मुद्रास्फीति, निर्माणमा भएको ढिलाइ र बढ्दो डलर भाउका कारण आयोजनाको लागत ३५ अर्बबाट करिब ८० अर्ब रुपैयाँ पुग्ने अनुमान छ । आजको कान्तिपुरमा खबर छ ।