Trending :
 

दुई हप्तामा तीन खर्ब ८५ अर्ब खर्च गर्नुपर्ने सरकारलाई दबाब

आषाढ १३,२०७८

-आस्था न्यूज

असार १३,२०७८ काठमाडौं। 
चालू आर्थिक वर्ष २०७७/७८ पूरा हुने समय अब तीन हप्ता पनि बाँकी छैन । आर्थिक वर्ष पूरा हुँदै गर्दा सरकारलाई भने खर्चको दबाब छ । शनिबारदेखि गणना गर्दा २० दिनभित्र सरकारलाई पुग नपुग चार खर्ब खर्च गर्नुपर्ने चाप छ ।
 
सरकारको खर्च तथा आम्दानीको हरहिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म सरकारले करिब नौ खर्ब ६० अर्ब खर्च गरेको छ । लक्ष्यअनुसार बाँकी २० दिनमा करिब तीन खर्ब ८५ अर्ब रुपियाँ सरकारले खर्च गर्नुपर्छ ।
 
मध्यावधि समीक्षाबाट सरकारले बजेटको आकार घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड रुपियाँ खर्च हुने संशोधित अनुमान गरेको थियो । त्यसअघि अघिल्लो जेठ १५ मा बजेट सार्वजनिक गर्दै चालू आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपियाँ खर्च गर्ने सरकारको घोषणा थियो ।
 
कार्यालयका अनुसार शुक्रबारसम्म चालूतर्फ सात खर्ब २९ अर्ब २२ करोड रुपियाँ खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ एक खर्ब ५६ अर्ब ६५ करोड रुपियाँ खर्च भएको तथ्याङ्क छ । त्यस्तै वित्तीयतर्फ सरकारको खर्च करिब ७४ अर्ब रुपियाँ पुगेको छ ।
 
संशोधित खर्चअनुसार शुक्रबारसम्मको पुँजीगत खर्च लक्ष्यको केवल ५५ प्रतिशत मात्र हुन आउँछ । मध्यावधि समीक्षापछि सरकारले पुँजीगत खर्च घटाएर दुई खर्ब ८३ अर्ब ४ करोड रुपियाँ पु(याएको थियो । वित्तीय व्यवस्थातर्फ पनि लक्ष्यको न्यून खर्च देखिन्छ । संशोधनपछि सरकारले एक खर्ब ४६ अर्ब ८६ करोड रुपियाँ वित्तीय व्यवस्थातर्फ खर्च हुने अनुमान गरेको छ । 
 
कोभिड-१९ सङ्क्रमणका कारण आर्थिक गतिविधि न्यून हुँदा सरकारको खर्च प्रणाली पनि कमजोर भएको अर्थ मन्त्रालयले उल्लेख गर्दै आएको छ । यद्यपि आर्थिक वर्षको अन्त्यतिर बजेटको अधिक खर्च गर्नुपर्ने बाध्यता विगतमा पनि उस्तै थियो । कतिपय खर्चबापतको शोधभर्ना असार मसान्तमा मात्र मात्रै दिइने हुँदा अन्तिम समयमा बढी खर्च गर्नुपर्नेजस्तो देखिने मन्त्रालयकै अधिकारीको भनाइ छ । आजको गोरखापत्रमा खबर छ ।