बसमा खिया लागेः बैंकमा ऋणको भारले लगातार ताकेता
-आस्था न्यूज
असार १४,२०७८ काठमाडौं ।
स्थानीय प्रशासनबाट अनुमति लिएर रूपन्देहीको सिद्धार्थनगरदेखि एक बस शनिबार बिहान बर्दियाका लागि छुट्यो । निषेधाज्ञायता पहिलोपटक यात्रु बोक्दै गरेको उक्त बस आधा बाटो पुगेपछि बिग्रियो । बन्ने टुंगो नभएपछि यात्रु अर्को बस बोलाएर गन्तव्यमा पुगे । लामो समयदेखि बस थन्काएर राखेकाले समस्या देखिएको चालकले बताए ।
तिलोत्तमा-१५ पत्थरडाँडाका रामु पौडेल दुई दशकदेखि यातायात क्षेत्रसँग आबद्ध छन् । भैरहवादेखि काठमाडौं चल्ने दुईवटा बस छन् उनका । निषेधाज्ञा भएयता उनी आरामले सुत्न पाएका छैनन् । २०७६ चैतदेखि नै व्यवसाय संकटमा परेपछि आफूलाई घाटा मात्रै भएको उनले सुनाए । ‘दुईवटै बस अहिले बिग्रिएर ग्यारेजमा छन्,’ उनले भने, ‘१ लाख घटी खर्च आउँदैन ।
तिर्ने कसरी हो थाहा छैन ।’ बसको अगाडिको जाली हल्लिने, टायर दब्ने, रङ उडेर खिया लाग्नेजस्ता समस्या भएपछि मर्मतका लागि ग्यारेजमा लगेको उनले बताए । निजी सवारी चलाउन पाउने, मालवाहकलाई छुट दिने सरकारले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएपछि सवारी धनीसँगै चालक र परिचालकसमेत मारमा परेको उनको गुनासो छ ।
देवदहका कृष्णप्रसाद सापकोटा पनि यो क्षेत्रमा प्रवेश गरेको २० वर्षभन्दा बढी भयो । तर यस्तो संकट कहिल्यै भोगेका थिएनन् । भैरहवा-काठमाडौं रुटमा चल्ने सापकोटाका ६ वटा एसी बस एक महिनादेखि ग्यारेजमा थन्किएका छन् । ‘गत वर्ष सात महिना थन्किए,’ उनले भने, ‘फेरि अहिले देशमा उही संकट दोहोरियो ।’ मासिक ७ लाख ५० हजार बैंकमा किस्ता र ब्याज बुझाउनुपर्ने तथा बैंकको ताकेता सहनै समस्या भइरहेको उनले दुखेसो पोखे ।
करोडौं ऋणमा खरिद गरिएका गाडी थन्काएर राख्नुपर्दा आफू पीडित बनेको भन्दै उनले १६ जना मजदुरको समेत बिचल्ली भएको सुनाए । ‘उनीहरूलाई जति सक्छु त्यति भात खानका लागि दिएको छु,’ उनले थपे, ‘यस्तै भइरहे व्यवसायबाट पलायन हुने र ऋणको भार बोकेर बस्नेबाहेक विकल्प रहन्न ।’आजको कान्तिपुरमा खबर छ ।