Trending :
 

नेपालको संक्रमण दर भारतको भन्दा सात गुणा बढी

आषाढ १५,२०७८

-आस्था न्यूज

असार १५, २०७८ काठमाडौं ।
 
भारतभन्दा नेपालमा सात गुणा बढी कोरोना संक्रमण दर रहेकाले भारतीय रणनीति हेरेर यहाँ संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकिने विज्ञहरूले बताएका छन् । भारतमा कोरोनाविरुद्धको खोप धेरैले लगाइसकेकाले पनि जोखिमको अवस्था उस्तै नरहेको उनीहरूको भनाइ छ ।
 
विगतमा भारतमा देखिएको संक्रमणको अवस्था, प्रभाव र जटिलताका आधारमा नेपालमा रणनीति बनाउने गरिए पनि अब त्यसो गर्न उचित नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले बताए ।
 
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार त्यहाँ कोभिडको संक्रमण दर २.९४ प्रतिशत देखिएको छ । त्यहाँ संक्रमित निको हुने दर ९६.८० प्रतिशत छ । नेपालमा भने सोमबार पीसीआर परीक्षणको संक्रमण दर २२.६९ प्रतिशत छ ।
 
संक्रमित निको हुने दर ९२.६ प्रतिशत छ । एक सातायता नेपालमा संक्रमण दर २० प्रतिशत हाराहारी छ । भारतमा भने यो साताको पोजिटिभिटी दर २.८१ प्रतिशत देखिएको छ । भारतले २० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ । खोप लगाउने काममा अमेरिकालाई जितेको भारतीय दाबी छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ ३२ करोड ३६ लाख ६३ हजार २ सय ९७ मात्रा खोप लगाइसकेका छन् ।
 
अमेरिकामा भने ३२ करोड ३३ लाख २७ हजार ३ सय २८ मात्रा खोप लगाइएको छ । गत आइतबार २४ घण्टामा भारतमा ६४.२५ लाख मात्रा खोप दिइएको थियो । ‘स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य डा। जीडी ठाकुरले भने, ‘भारतमा देखिएको त्यो सकारात्मक अवस्थाले हामीलाई राहत हुने देखिँदैन । नेपालमा बहुसंख्यकले खोप नलगाएकाले ठूलो क्षति हुन सक्छ ।’
 
नेपालको सीमावर्ती भारतीय राज्यमा समेत कोभिडविरुद्धको खोप युद्धस्तरमा लगाइँदै छ । परिवार स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार सोमबारसम्म बिहार राज्यमा १ करोड ३५ लाख ७३ हजार १ सय २८ जनालाई एक मात्रा र २१ लाख ८२ हजार ३२ जनालाई दुई मात्रा गरी खोप दिइएको छ । आजको कान्तिपुरमा खबर छ ।