ओलीको बोली बदलिदैः मन नपरेका नेतादेखि न्यायाधीश र सभामुखसम्मलाई गालीगलौज
-आस्था न्यूज
असार १५, २०७८ काठमाडौं ।
दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि झन् संकटमा पर्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निर्णयहरूको बचाउ गर्न विपक्षी गठबन्धनका नेताहरूमाथि मात्र होइन, संसद् र सर्वोच्च अदालतको नेतृत्वप्रतिसमेत गालीगलौज र आक्षेप लगाउन थालेका छन् ।
उनको स्वभावै तिखो बोल्ने हो तर पछिल्ला दिनमा बोलीको लय झन् बदलिएको छ । जबकि धेरैपटक बोल्दा र लेख्दा प्रयोग गर्ने भाषाको शिष्टताप्रति उनी नै बुद्धिजीवी, लेखकलगायतलाई प्रशिक्षणको शैलीमा सिकाउन खोज्थे ।
ओलीको बोलीको सीमाको कुन तहमा पुगेको छ भन्ने पछिल्लो उदाहरण हो-उनले आफ्नो विरोधी कित्तामा रहेका नेता, सर्वोच्च अदालतका न्यायाधीश र संसद्का सभामुखप्रति सोमबार गरेको टिप्पणी । एमाले नेता–कार्यकर्ताले आफ्नो वैचारिक धारको आदर्श व्यक्ति मानेका मदन भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रत्येक व्यक्तिको नाम किटेर टिप्पणी गरेका थिए ।
भण्डारी आफ्नो राजनीतिक एजेन्डा बोकेर प्रतिस्पर्धाबाट विपक्षीमाथि विजय हासिल गर्नुपर्छ भन्ने मान्यता राख्थे तर आफूलाई तिनै भण्डारीको खास उत्तराधिकारी ठान्ने ओली राजनीतिक सीमा नाघ्दै व्यक्तिगत टिप्पणीमा चर्को रूपमा उत्रिए ।
उनको शब्दवाणको मुख्य निसाना माधव नेपाल र पुष्पकमल दाहालमा थियो जोसँग उनी निकट विगतसम्म काँध मिलाएर कम्युनिस्ट आन्दोलनलाई समाजवादमा लैजाने सपना देख्थे । ओलीले सोमबार कांग्रेस र कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्च अदालतका न्यायाधीशमाथि टिप्पणी गरे । आजको कान्तिपुरमा खबर छ ।