Trending :
 

एमालेले ब्युँतायो एकतापूर्वको कमिटी, माधव नेपाललगायतको कारबाही पनि खारेज

आषाढ १६,२०७८

-आस्था न्यूज

असार १६, २०७८ काठमाडौं ।
सर्वोच्च अदालत र पार्टीभित्रको असन्तुष्ट समूहले समेत वैधानिकतामा प्रश्न खडा गरेपछि एमालेले महाधिवेशन आयोजक कमिटी भंग गर्दै माओवादी केन्द्रसँग एकता हुनुअघिका पदाधिकारीहरूसहितको केन्द्रीय कमिटीलाई ब्युँताउने निर्णय गरेको छ । ब्युँतेको केन्द्रीय कमिटीको बैठक आउँदो शुक्रबारका लागि बोलाइएको छ ।
 
महाधिवेशन आयोजक कमिटीको वैधानिकता नरहेको भन्दै भंग गर्ने निर्णय भएपछि अब माधव नेपाललगायतका नेताहरूमाथिको कारबाही र पदाधिकारीसहित पद हटाउने निर्णय पनि स्वतः खारेज हुनेछ । 
 
अब अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहितका पदाधिकारी रहेको केन्द्रीय कमिटीको संरचना क्रियाशील हुनेछ ।
 
स्थायी कमिटीको मंगलबारको बैठकले २०७५ जेठ ३ मा माओवादी केन्द्रसँग पार्टी एकता हुनुअघिको एमालेको केन्द्रीय कमिटीलाई क्रियाशील बनाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
 
‘महाधिवेशन आयोजक कमिटीले गरेका निर्णय विधिसम्मत भएनन् भन्ने भएपछि अब केन्द्रीय कमिटीमा पुग्दा यसले गरेका कारबाहीहरू बाँकी रहँदैनन्,’ उनले भने ।
 
माधव नेपालसहित ११ जना नेता अहिले पार्टी कारबाहीमा परी निष्कासित अवस्थामा छन् । अब केन्द्रीय कमिटी ब्युँतेपछि यो बीचमा भएका कुनै पनि निर्णयको वैधानिकता नहुने भएकाले स्वतः जो जहाँ जे पद र अवस्थामा थिए, त्यही भूमिकामा हुनेछन् ।
 
माओवादी केन्द्रसँग पार्टी एकीकरण हुनुअघि एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय थियो । महाधिवेशनबाट निर्वाचित २०३ जनाको केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूह दुवैले माओवादी केन्द्रसँग एकता गर्नुपूर्व ३८ जना केन्द्रीय सदस्य थपेर २४१ सदस्यीय बनाएका थिए ।
 
त्यही कमिटी अब क्रियाशील हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए । ब्युँतिएको केन्द्रीय कमिटीको बैठक आउँदो १८ गतेका लागि बोलाइएको छ तर त्यो बैठकअघि भंग गर्ने निर्णय भइसकेको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक बुधबारका लागि राखिएको छ । आजको कान्तिपुरमा खबर छ ।