Trending :
 

बाढीपहिरो र चट्याङमा परेर ७ को मृत्युः३ जना बेपत्ता, आठ जना घाइते

आषाढ १८,२०७८

-आस्था न्यूज

असार १८, २०७८ काठमाडौं ।
 
बाढीपहिरो र चट्याङमा परेर बिहीबार चितवन, सिन्धुली र तनहुँमा सात जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । तनहुँ र गोरखामा आठ जना घाइते भएका छन् । गोरखा, लमजुङ, पूर्वी नवलपरासीलगायत जिल्लामा दर्जनौं परिवार विस्थापित भएका छन् । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।
 
बाढीपहिरोले चितवनमा बिहीबार दुई जनाको ज्यान गएको छ, तीन जना बेपत्ता छन् । त्यसैगरी चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । वर्षाका कारण पूर्वी चितवन बढी प्रभावित भएको छ । राप्ती नगरपालिका–१२ को पहाडी गाउँ लोथरमा बिहीबार पहिरोले दुई घर र एउटा गोठ भत्काएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी सूर्य थापाका अनुसार लोथरमा दुई घर बगाउँदा चार जना बेपत्ता भएका थिए । तीमध्ये एक पुरुषको शव घटनास्थलभन्दा ५० मिटर तल फेला परे पनि र अरू विवरण नआएको डीएसपी थापाले बताए ।
 
अर्को पहाडी गाउँ कालिका नगरपालिका-११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पनि पहिरोमा परेर मृत्यु भएको छ । आफन्तको घर जाने क्रममा बिहीबार दिउँसो दुई बजेतिर बाटोमाथिबाट आएको पहिरोमा परेका उनको शव एक किलोमिटर तल घैयाबारीमा भेटिएको डीएसपी थापाले बताए । त्यसैगरी बिहीबार बिहान साढे ८ बजेतिर राप्ती नगरपालिका-९ लालपुरमा चट्याङ लागेर ४५ वर्षीया बिजुलीमाया श्रेष्ठको मृत्यु भएको हो । धान रोप्न जाने क्रममा चट्याङ लागेर गम्भीर भएकी उनको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।
 
नारायणगढ–मुग्लिन सडकका ठाउँठाउँमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका-६ पाँच किलोमा बुधबार राति सवा दुई बजे पहिरो जाँदा अवरुद्ध भएको सडक मध्याह्न मात्रै एकतर्फी खुलेको थियो ।
 
भरतपुर महानगरपालिका-२९ केराबारीमा दिउँसो साढे तीन बजे अर्को पहिरो खस्यो भने साँझ सवा ७ बजेतिर भरतपुर– २९ को १४ किलोमा ठूलो ढुंगा खसेको थियो । सडक साँझबाट एकतर्फी सञ्चालनमा आएको छ । आजको कान्तिपुरमा खबर छ ।