बालबालिकाको खानपानमा ध्यान दिन विज्ञहरूको सुझाव
-आस्था न्यूज
असार २२,२०७८ काठमाडौं ।
मनसुन सुरु भएसँगै बालबालिकामा विभिन्न किसिमका रोगको जोखिम बढ्ने हुनाले खानपानमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।
मनसुनको समयमा बालबालिकालाई झाडापखाला, जन्डिस, मलेरिया, डेङ्गुजस्ता समस्याले सताउन सक्ने बालरोग विशेषज्ञ डा. प्रज्ञा प्रधानले जानकारी दिनुभयो ।
उहाँले विशेषगरी खाना र फोहोर पानीका कारण धेरै स्वास्थ्य समस्या आउने जानकारी दिँदै कोरोनाको तेस्रो लहरको चिन्ता पनि बढ्न थालेकाले सचेत हुनुपर्ने बताउनुभयो । “कोरोनाको सम्भावित तेस्रो र चौथो लहरमा बालबालिका बढी जोखिममा पर्नसक्ने अनुमान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै सङ्क्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी सङ्क्रमित हुने अनुमानसहित स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ”, डा। प्रधानले भन्नुभयो ।
मौसम परिवर्तन हुँदा बालबालिकामा प्रतिरोधात्मक क्षमता घट्ने भएकाले यस्तो अवस्थामा स्वच्छ, सफा र पौष्टिक खानाको व्यवस्था गर्नुपर्ने सुझाव उहाँको छ । रोगप्रतिरोधी प्रणाली विभिन्न अङ्ग, कोष, तन्तु र प्रोटिनबाट बनेको जटिल सञ्जाल हो ।
सामान्य भाषामा भन्ने हो भने प्रतिरोधी प्रणालीले शरीरलाई विभिन्न ब्याक्टेरिया, भाइरस र अन्य सङ्क्रमणबाट बचाउने काम गर्छ ।
डा। प्रधानले भन्नुभयो, “बालबालिकालाई ताजा सागसब्जी, तरकारी, दालभात, पोषणको हिसाबले उपयुक्त र पर्याप्त हुन्छ ।” दैनिक आहारमा हामीले ‘हरेक बार, खाना चार’ भन्ने मन्त्र अपनाउनुपर्ने सुझाव उहाँकोछ । यसको अर्थ,हामीले खाने खानाको थालमा कम्तीमा चारवटा खाद्य समूहबाट खानेकुरा समावेश गर्न सकियो भने अत्यन्त राम्रो हुन्छ ।
जनस्वास्थ्य तथा पोषणविद् डा। अरुणा उप्रेतीले बालबालिकाका साथै हामीले खानेकुरामा उचित ध्यान नदिँदा समस्या आउने बताउनुभयो । उहाँका अनुसार यो समयमा पानीसँगै विभिन्न प्रकारका कीटाणु आउँछन् ।
यसले जन्डिस, डेङ्गुजस्ता रोग फैलाउने गर्छन् । हिलो र फोहोरका कारण घाउ खटिरा हुने सम्भावना पनि अत्यन्त धेरै हुन्छ । आजको गोरखापत्रमा खबर छ ।