Trending :
 

हिमाली पाटनमा जडीबुटी संकलकले फालेका मदिराका बोतल मात्रै ५० लाखभन्दा बढी

आषाढ २४,२०७८

-आस्था न्यूज

असार २४, २०७८ काठमाडौं ।
साइपालका हिमाली पाटनहरू अबका केही महिना सफा देखिने छन् । यार्चा तथा जडीबुटी संकलकले वर्षौदेखि फालेका फोहोर यत्रतत्र देख्न पाइने छैन । हुल फेरि उक्लिएपछि भने सफा हुनु नहुनु उनीहरूकै व्यवहारमा निर्भर छ ।
 
बर्सेनि फोहोर थुप्रिँदै जाँदा उच्च हिमाली क्षेत्रको जैविक विविधता नै संकटमा पर्न थालेको थियो । फोहोर बढ्दा एकातिर यार्चा र जडीबुटीलाई प्रतिकूल असर त परेकै थियो, संकलक पनि समस्यामा थिए ।
 
वर्षौंदेखि फालिएका फोहोरले हिमाली पाटनमा परेको असरको चिन्ता सुरु भएपछि गाउँपालिका व्यवस्थापनमा अघि सरेको छ । ‘सुरुवाती चरणमा अहिले जम्मा भएको र पाटनमा छरिएको फोहोर संकलन गरेर निश्चित ठाउँमा खाल्डो खनेर पुर्ने काम गरिरहेका छौं,’ गाउँपालिकाका ओभरसियर तिलक विकले भने, ‘यार्चा र अन्य जडीबुटी संकलन गर्न गएकालाई पनि फोहोर व्यवस्थापनमा सहभागी गराइरहेका छौं ।’ 
 
वर्षौंदेखि थुप्रिएको फोहोर एकै पटकमा तह लगाउन सम्भव नभए पनि छरिन नपाओस् भनेर काम थालिएको उनले बताए । गाउँपालिकाले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० अन्तर्गतको विश्व वातावरण कोष र स्थानीय गैरसरकारी संस्था सहारा नेपालसँग सहकार्य गरेर सफाइको काम थालेको हो । 
 
सरसफाइ अभियानअन्तर्गत पुरानो फोहोर व्यवस्थापन र नयाँ फोहोर यार्चा संकलक आफैंले गर्ने गरी सचेतनामूलक कार्यक्रम पनि चलाइएको सहाराका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए ।
 
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० ले साइपालको यार्चा संकलन क्षेत्रमा गरेको अध्ययनले यहाँका पाटनहरूमा ४० हजार क्विन्टलभन्दा बढी फोहोर जम्मा भइसकेको देखाएको छ । २०७६ मा गरिएको उक्त अध्ययनको साझेदार सहारा नेपालका अनुसार यार्चा संकलनको समयमा पाटन पुग्ने प्रत्येकले केही न केही फाल्ने गर्छन् ।
 
जुत्ता, चप्पल, ओढ्ने–ओछ्याउने कपडा, पाल, प्लास्टिक आदिबाट एक सिजनमा सरदर ५ किलो र बिस्कुट, चाउचाउ, जुस, चकलेट, सुर्ती, गुट्खा आदिको खोल गरेर एक सिजनमा ५ किलो २ सय ग्राम फोहोर छाड्छन् । प्रत्येक वर्ष यार्चा टिप्न साइपालका पाटनमा मात्रै १५ हजारभन्दा बढी मान्छे पुग्ने गरेका छन् । पछिल्लो १५ वर्षको अवधिमा मात्रै ११ हजार ७ सय क्विन्टल फोहोर जम्मा भइसकेको प्रतिवेदनमा उल्लेख छ ।
 
संकलकले दैनिक उपभोग गर्ने र बन्दोबस्तीका सामानभन्दा कैयौं गुणा बढी फोहोर मदिराको खपतबाट हुने गरेको अध्ययनले देखाएको छ । मदिरा सेवन गरेर फालिएको सिसाका बोतल मात्रै ५० लाखभन्दा बढी रहेको र यसको तौल १५ हजार क्विन्टल रहेको प्रतिवेदनमा उल्लेख छ । ‘अहिले पनि पाटन क्षेत्रमा टनका टन फोहोर जम्मा भइसकेको छ । आजको कान्तिपुरमा खबर छ ।